|

भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्वअध्यक्ष कार्लोस गोउन पहिलो पटक मंगलबार टोकियो अदालतमा उपस्थित भएका छन्। अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ।

गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो।

'मेराविरुद्ध लगाइएका आरोपहरू असत्य हुन्, म निर्दोष छु,' गोउनले न्यायाधीशसमक्ष भने। न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उनी दृढ र शान्त देखिएका थिए। 'मलाई अन्यायपूर्वक आरोपित गरिएको छ।'

सरकारी वकीलहरूले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन्। उनमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलबबापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ।

वकीलहरूले वित्तीय संकटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन्।

कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित भएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिएका थिए। उनले आरोपहरूमाथि प्रतिवाद गर्दै भने, 'म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ।'

'आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,' उनले अदालतमा थपे। विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरू ठूला एवं विशिष्ट मञ्चहरूमा वक्ताका रुपमा रहने गरेका थिए। तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो। अदालतभित्रको इजलासमा भने उनको हतकडी फुकालिएको थियो।

न्यायाधीश युची ताडाले इजलासमा गोउनमाथि लागेको आरोप पत्र पढेर सुनाएका थिए। न्यायाधीश ताडाले गोउनमाथि जापानबाट भाग्न खोजेको पनि बताएका थिए। जापानी सरकारी वकीलहरूले गोउनले प्रमाणहरू लुकाउने वा नष्ट गर्ने सम्भावना पनि रहेको आरोप लगाएका छन्।

गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो। कार्लोस गोउन फ्रान्सेली नागरिक हुन्। जापानमा शंकास्पद व्यक्तिहरूलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ।

मंगलबारको सुनुवाईका क्रममा गोउनका एकजना वकील गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गरे। 'गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन। उहाँले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन' ती वकीलले भने।

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरूको व्याख्या गरेका थिए। उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए। उनले भने, 'मलाई निसानमाथि साँच्चिकै प्रेम छ।'

केही वर्षयता निसान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ। हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ। गोउन अझै पनि रेनल्टका प्रमुख तथा निसानको सञ्चालक समितिका सदस्य छन्।

गोउनको थुना अवधि अझै आगामी शुक्रबारसम्मका लागि कायम छ। जापानको कानुन बमोजिम गलत वित्तीय रिपोर्टिङ गरिएको अवस्थामा १० वर्षसम्म जेल सजाय, ८९ हजार अमेरिकी डलर वा दुबै सजाय हुन सक्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.