|
File Photo

पोखरा : गण्डकी प्रदेश सरकारले माघे सक्रान्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पुस २७ गतेको पृथ्वी जयन्तीलाई बिर्सेर माघे सक्रान्तीमा भने बिदा दिने निर्णय गरेको हो।

‘पुस २७ नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती हो। यस विषयमा प्रदेश सरकारले केही निर्णय गरेर संघीय सरकारले जे गर्छ सोहीअनुसार हुन्छ,’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘यस प्रदेशका विभिन्न जातजातिले मान्दै आएको धर्म र सामाजिक सहिष्णुता कायम गर्नका लागि माघेसक्रान्तीमा चाहीँ बिदा दिने निर्णय भएको छ।’

मन्त्री बस्नेतले नेपाल एकीकरणको उद्गम थलो गोरखा गण्डकी प्रदेशमै पर्ने भए पनि यसबारे संघ सरकारले नै निर्णय गरे प्रदेशले कार्यान्वयन गर्ने बताए। यसअघि तमु ल्होसारको अवसरमा पुस १५ मा प्रदेश सरकारले बिदा दिए पनि संघ सरकारअन्तर्गत रहेका सरकारी कार्यालयहरूले कार्यालय बन्द गरेनन्। यस पटकको बिदामा संघअन्तर्गतका कार्यालयहरूले पनि प्रदेशको निर्णय कार्यान्वयन गर्ने विश्वास रहेको उनले बताए।

प्रदेशको ३६औँ मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै जिल्लामा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना र सञ्चालन गर्नका लागि कार्यविधि स्वीकृत गरेको छ। विभिन्न १७ स्थानमा निर्माण हुने ज्येष्ठ नागरिक दिवासेवा केन्द्रको भौतिक संरचना तयार गर्नका लागि ८५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय पनि बुधबारको बैठकले गरेको छ। त्यस्तै जलाधार व्यवस्थापन प्रदेश नीति पारित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.