|

डडेल्धुरा : माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालले साविकको सामुदायिक उच्च माध्यमिक तहको लागि प्राप्त चार हजार शिक्षण अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने माग गरेको छ।

बिहीबार माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरा र अमरगढी नगरपालिकाका नगर प्रमुखलाई विभिन्न २० बुँदे मागसहित ध्यानाकर्षण पत्र बझाएको छ।

साविकको सामुदायिक उमावि तहको दरबन्दी र अनुदानमा कार्यरतबाहेक सोही तहमा कार्यरत शिक्षकहरूको व्यवस्थापनका लागि तत्काल थप आवाश्यक दरवन्दी स्वीकृत गर्नुपर्ने, उमावि तहमा कार्यरत शिक्षकलाई विशेष आन्तरिक प्रक्रियाद्वारा मावि द्वितीय श्रेणीमा स्थायी गर्नुपर्ने माग उसको छ।

विस २०७४ सालमा सम्पन्न तीनै तहमा निर्वाचनले  राज्य संचाललनको ढाँचालाई परिवर्तन गरी शैक्षिक संरचनालाई समेत पुनः संरचित गरेको अवस्था छ। यस क्रममा कक्षा ९-१२ लाई माध्यमिक तह निर्धारण गरिएको र शिक्षाको एउटै संरचना कार्यरत शिक्षकको व्यवस्थापनसमेत विभेदपूर्ण रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

‘शिक्षा ऐनको ९औं संशोधनले कक्षा १-१० सम्म अध्यापनरत शिक्षकको स्थायित्वका बारेमा प्रस्टसँग बोलेको र सोही संरचनाअन्तर्गतका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकको सेवासर्त, सुविधा एवं स्थायित्वका विषयमा कुनै कुरा उल्लेख नहुनुले यस तहमा अध्यापनरत शिक्षकले अपमानित र राज्यका तर्फबाट पक्षपातपूर्ण व्यवहारको महसुस गरेका छन्। यसले शिक्षकमा ऊर्जा थप्ने र हौसला बढाउने कार्य गर्न सकेको छैन्। तसर्थ शिक्षाको संघीय ऐन तयार हुँदै गर्दा यसलाई कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकको समस्यासमेत सामाधान हुने गरि ऐनमा समावेश गर्न ध्यानाकर्षण गराउँछौँ’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

विद्यालयले प्रदान गरेको नियुक्तिको आधारमा अस्थायी सेवा अवधी गणना गरी सम्बन्धित निकायले अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने, साविकको सामुदायिक उमावि तहमा शिक्षकले प्राप्त गरेको अस्थायी लाइसेन्सलाइ स्वतः स्थायीमा परिणत गर्नुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक अंगको रुपमा स्थापित गर्नुपर्ने, संघीय, प्रादेशिक र सबै स्थानीय सरकारद्घारा निर्माण गरिने शिक्षासम्बन्धी ऐन नियामावली निर्देशिका र कार्य विधिमा एक रूपता हुनुपर्नेलगायतका माग रहेको नेपाल माध्यमिक विद्यालय शिक्षक युनियन डडेल्धुराका अध्यक्ष राजेन्द्रप्रसाद भट्टले बताए।

ध्यानाकर्षण पत्र बुझ्दै अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझाले शिक्षकका माग सम्बोधन गर्न आफूले पहल गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.