|

दाङ : प्रशेद ५ का मुख्यमन्त्री शंकर पोख्रेलले माघी पर्वलाई सद्भावको पर्व बनाउनु पर्ने बताए। दाङको घोराहीमा बिहीबारदेखि शुरु भएको दुईदिने प्रदेशस्तरीय माघी महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले माघी पर्व थारु र मगर समुदायको मात्रै नभई सम्पूर्ण नेपालीहरुको पर्व भएको बताए।  

मुख्यमन्त्री पोख्रेलले माघी पर्वलाई समाजमा सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनु पर्ने बताए। उनले प्रदेश ५ बहुसांस्कतिक पहिचान बोकेको प्रदेश भएकाले सबै समुदायको सहयोगमा मात्रै उत्कृष्ट प्रदेश बनाउन सकिने बताए। 'यहाँ मगर, थारु, अवधी, खसआर्य लगायतको संस्कृति पाइन्छ। सबै संस्कृतिको जगेर्ना गरी यो प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन सकिन्छ’, मुख्यमन्त्री पोख्रेलले भने, 'यसका लागि प्रदेश सरकारले विशेष योजना बनाएको छ। प्रदेश सरकारको योजनालाई सफल बनाउन सबै लाग्नु पर्दछ।"

उनले प्रदेश ५ मा बहुसंख्यक जनता थारु र मगर समुदायको रहेको भन्दै यी दुवै समुदायले आफूहरूलाई आधुनिकीकरण गर्नुपर्ने बताए। प्रदेश सरकारले समृद्ध प्रदेश सुखी जनता कार्यक्रम लागू गरेको बताउँदै मुख्यमन्त्री पोख्रेलले अत्यन्तै मिहिनेती थारु र मगर समुदायको जीवनस्तरमाथि नउठ्दा सम्म प्रदेश सरकारको कार्यक्रम सफल नहुने भन्दै दुवै जातिले आफूलाई आधुनिकीकरण गर्नु पर्ने बताए। थारु कल्याण कारिणी सभा दाङको आयोजनामा सुरु भएको माघी महोत्सवमा पश्चिम नेपालका ६ जिल्लाका थारु संस्कृति प्रस्तुत हुने कार्यक्रम रहेको छ।

कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ। त्यसैगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मृत्यु संस्कार परिवर्तन आवश्यक रहेको बताए। बिहीबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीकी आमा भुविया चौधरीको १२ औं दिनको अवसरमा भएको श्रद्धाञ्जलि सभामा शोक मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री पोख्रेलले मृत्यु संस्कारलाई पनि समयअनुसार परिवर्तन गर्नुपर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको श्रद्धाञ्जलि सभामा अब पनि परम्परागत रुपमा १३ दिनसम्म काजकिरिया गर्नुपर्ने अवस्थामा सिंगो समाजलाई नै बोझ थपेको भन्दै समय अनुसार परिवर्तन गर्नुपर्ने उनले बताए।

'पहिले समयको कम महत्व हुन्थ्यो। तर अहिले समयको महत्व धेरै बढेको छ। त्यसैले यसलाई अब समय अनुसार परिवर्तन गर्नुपर्छ ' उनले भने।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.