|

डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा एक हप्ताको समयमा चारपटक आगलागीका घटना घटे। विगत केही दिनदेखि पटकपटक भइरहेका भीषण आगलागीका घटनाले यहाँका व्यापारी र स्थानीयवासी आतंकित बनेका छन्।

पुस १३ गते शुक्रबार बागबजारस्थित लक्ष्मी किराना पसलमा आगलागी भयो। उक्त घटना सेलाउन नपाउँदै १८ गते बुधवार एक खोकामा मध्यराति आगलागी भयो। आगलागीको यो श्रृखंला यतिमै रोकिएन, त्यसपछि बिहीबार डडेल्धुराको मुख्य व्यापारीक केन्द्र बागबजारकै तीन पसल जलेर नष्ट भए। त्यसकै ३ दिनपछि बागबाजारकै बसपार्कमा आगलागी भएर ११ पसल 'स्वाह' भए।

यी क्रमबद्ध रूपमा भएका आगलागीलाई यहाँका स्थानीयले शंकाको नजरले हेरिरहेका छन्। सधैँजसो आगलागीका घटना हुनु रहस्यमय भएको भन्दै स्थानीय व्यापारीहरू त्रसित बनेका छन्। ‘भोलिपल्ट उठ्दा पसल रहने होकी नरहने हो’ स्थानीय व्यापारी वीरबहादुर सेठीले भने, ‘हामी त आजभोलि रातभर जागाराम रहेर बजारको चौकीदारी गर्छौँ।’

बजारमा दिनदिनै आगलागी हुँदा व्यापारको मनोबल घटाइरहेको व्यापारी केशव महताले बताए। ‘दिनदिनै बजारमा आगलागी भइरहेको छ। हामी व्यापारीहरूको मनाबलमा नराम्रो प्रभाव पारिरहेको छ', उनले भने, ‘रातिको समयमा आगलागी कसरी भइरहेको छ। यसको बारेमा पनि पत्ता लागेको छैन। सायद कसैले आगो लगाइरहेका छन् कि? बाहिरबाट हेर्दा लगाइरहेको जस्तो पनि देखिन्छ।’

९ दिनमा ४ आगलागी, ढेड करोड बढी स्वाह

लगातारको आगलागीका कारण करिब डेढ करोड बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ९ दिनको अन्तरालमा भएका यी घटनामा १५ पसल र १ घर जलेर नष्ट भएका थिए। यही पुस १३ गते शुक्रबार सुरुमा लक्ष्मी किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति  भएको थियो।

त्यसको ४ दिनपछि बागबजारकै बगरकोटरोडमा एक खोका जल्दा करिब ६ लाखको क्षति भयो भने त्यसकै भोलिपल्ट बागरबजारको बगरबाटाको एक घरमा आगलागी हुँदा घरसहित घरमै भएका तीन पसल जले, जसमा ६० लाख बराबरको क्षति भयो। यो भयाभह श्रृंखलाको अन्तिम विकराल रूपमा आइतबार पनि आगलागी भयो। बागबजारकै बसपार्कमा सँगै रहेका १० वटा खोकाछाप्रामा एकसाथ आगो लाग्दा ६५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

एकै प्रकृतिको आगो कसरी लाग्यो?

लगातारका ४ आगलागीले यतिबेला सदरमुकामको माहोल त्रसीत बेनेको छ। यसरी श्रृंखलाबद्ध रूपमा आगो लाग्नुलाई यहाँका स्थानीले आगलागी नभई आगो लगाइएको भनी शंका गरेका छन्। सुरुमा १३ गतेको आगलागी हुँदा त्यति ख्याल नगरिएको तर पछिका तीन आगलागी एउटै तरिकाले आगेको हुँदा उनीहरूले कुनै व्यक्ति तथा समूहले लगाएको हुन सक्ने बताएका छन्।

‘शंका त त्यति बेला लाग्यो जब बगरबाटका तीन पसलसँगै जलिरहेका थिए’ प्रत्यक्षदर्शी’ शेरबहादुर गुरुङले भने, ‘आगो त एउटा पसलबाट सल्किएर अर्को पसलमा जान समय लाग्छ, त्यहाँ एकसाथै अरू पसलमा पनि आगलागी भएको थियो। त्यो पेट्रोल हालेरसँगै जलाइएको हुनपर्छ।’

त्यस्तै २२ गते बसपार्कमा पनि सँगै १० पसल जलेका थिए। ‘राति चौकीदारी गर्ने क्रममा हामी त्यही बाटो भएर गएका थियौँ, त्यसको १० मिनेटपछि ती पसल जले’, प्रत्यक्षदर्शी केदार नाथले भने, ‘हामी हत्तपत्त दगुरेर आयौँ त्यहाँ एक किशोर उभिएका थिए।’

उक्त दिन आगो निभाउने क्रममा केही व्यक्ति त्यसकै केही पर रहेको डडेल्धुरा सार्वजनिक पुस्कालयमा जमघट भएका थिए। विल्डिङको हरेका सटरमा पेट्रोल खनाइएको र गन्ध पनि आइरहेको प्रत्यक्षदर्शीहरू बताउँछन्।

आगो लगाएको आशंकमा एक किशोर प्रहरी हिरासतमा

बसपार्कमा भएको आगलागीका बेला त्यँहा एकजना किशोर देखिएका थिए। आगलागी स्थलबाटै उनलाई प्रहरीले हिरासतमा लिई अनुसन्धान थाल्यो। उता नगरपालिकाको दमकल, डोजर, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयले आगो निभाइरहेका थिए।

अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वरप्रसाद ओझाले ती भेटिएका किशोरले आगजनी गरेको स्वीकार गरिसकेको जानकारी दिए। त्यो सुनिसेकेपछि सबै शान्त बने। तर, अपराधि पक्राउ परिसकेको खबरले ढुक्क बनेका स्थानीयको त्यो खुसी धेरैसमय टिक्न सकेन। भोलिपल्ट ती किशोरले घरमा खर्च नदिएकाले बसपार्कको आफ्नै जग्गामा रहेका खोकाछाप्रामा आगजनी मात्र आफूले गरेको बताएपछि सबै आश्चार्यचकीत परे। बल्ल पत्ता लागेको अपराधीले एउटा आगजनीमा मात्र आफूले गरेको बताएपछि प्रश्न उठ्यो आखिर अन्य आगलागी कसरी भयो त? यो कठिन प्रश्नले गर्दा अब अर्को पालो कसको भनेर यहाँका व्यापारी चिन्तित बनेका छन्।

रातभर जागाराम रही चौकीदारी गर्छन् स्थानीय

९ दिनमा भएका यी डर लाग्दा घटनापछि यहाँका स्थानीय तथा व्यापारीको निद्रा गायब भएको छ। साँझ दिनभरी कमाएको रुपैयाँ र महत्वपूर्ण कागजात बाकेरमा मात्र उनीहरू पसल बन्द गर्ने गर्दछन्।

राति खाना खाइसकेपछि हरेक ५० मिटरको दूरीमा आगो बालेर चौकीदारी गरेको दुश्य आजभोलि बजारमा देख्न सकिन्छन्। ‘अब आफ्नो सुरक्षा आफैँ गर्ने हो’ स्थानीय व्यापारी विष्णु जोशीले भने ‘पालोपालो गरेर रातभर बस्छौँ, प्रशासनले सुरक्षा व्यवस्था त कडा गरेको छ, तर पनि मनले मान्दैन।’

‘राति हिँड्ने ट्यापे केटाहरूले हो की भन्ने हामीलाई शंका लागेकोले हामी आफैँ चौकीदारी बसेका छौँ’ स्थानीय महेश कठायतले भने।

आगलागी बारे के भन्छन् सरोकारवालाहरू ?

चारवटै घटना अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।

यही सोमबारको आगलागीको भोलिपल्ट घटनाको छानबिन तथा सुरक्षा संयन्त्र मजबुत बनाउन माग गर्दै व्यापारीले बजार बन्द गरेका थिए। जिल्ला सदरमुकाम बागबजारमा ९ दिनमा लगातार चारपटक आगलागी भएको घटनामा आशंका भएको र घटनाको नियन्त्रणका लागि सर्वपक्षीय बैठक बसी छानबिन समिति बनाइएको थियो।

अहिले छानबिन भइरहेको अमरगढी नगरपालिकाले जानकारी दिएको छ। ‘स्थानीयले शंकाको नजरले हेरेको हुँदा यी घटनामा छानबिन हुन्छ’ नगरप्रमुख विशेश्वरप्रसाद ओाझाले भने ‘भएको क्षतिलाई पूर्ति गर्न के–के गर्ने सकिन्छ हामी छलफल गर्दैछौँ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक डम्बर बहादुर केसीले यी घटनाको गहिरिएर अनुसन्धान भइरहेको जानकारी दिए। आगलागीको समय, प्रकृति एउटै भएकाले २३ गते भएको आगजनीमा पक्राउ परेका ती प्रतिवादी किशोरले नै सबै स्थानमा आगजनी गरेको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको बताइएको छ।

‘उनको व्यवहार तथा मानसिक अवस्था हेर्दा अलि शंकास्पद रहेकाले उनी नै दोषी हुन जस्तो लाग्छ’ प्रहरी नायव निरीक्षक डम्बरबहादुर केसीले भने,–‘निजलाई पक्राउ गरिसकेपछि आगलागीको क्रम रोकिएको छ, तर पनि धेरैलाई हिरासतमा लिएर अनुसन्धान गर्दैछौँ।’ आगलागीका घटनापछि जिल्लाको सुरक्षा सयन्त्र थप मजबुत पारिएको उनले जानकारी दिए।

आगलागीका बारेमा समयमा थाहा भएकोले आगो नियन्त्रण भई कुनै मानवीय क्षति भने भएको छैन। क्रमागत रुपमा घटेका यी घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन भइसकेको र सबै सरोकारवालासँग समन्वय गरेर घटनाको छानबिन अगाडि बढाउने जिल्ला प्रशासन कार्यालयको भनाइ छ।

आगलागी पीडितलाई प्रदेश सांसद मल्लको एक महिनाको तलब

बागबजारका आगलागी पीडितका लागि प्रदेश सांसद कर्णबहादुर मल्लले एक महिनाको तलब दिएका छन्। कांग्रेसको डडेल्धुरा जिल्ला सभापतिसमेत रहेका मल्लले एक महिनाको तलबबापत ४१ हजार रुपैयाँ सहयोग गरेका हुन्।

बिहीबार अग्निपीडितसँगको छलफलमा सांसद मल्लले अग्निपीडितको पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेशबाट प्रति व्यवसायी १ लाख राहत र व्यापार स्थापनाका लागि उचित स्थानका लागि प्रदेश सरकारसँग छलफल गर्ने बताए।

राहतका लागि प्रदेशमा मात्र नभई केन्द्रमा समेत पहल गर्ने उनले जानकारी दिए। नेपाली काग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएका कारण राहत केन्द्रबाट समेत आउने मल्लले आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.