|
File Photo

तनहुँ : २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका निजी आवास पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँद्वारा दमौलीमा आयोजित कार्यक्रममा जिल्लाका दश स्थानीय तहका प्रमुख/प्रमुख प्रशासकीय अधिकृत र पुनर्निर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्राधिकरण एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहितद्वारा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्राधिकरणले नगरपालिका/गाउँपालिकामा इञ्जिनियर, सबइञ्जिनियर, असिष्टेन्ट सबइञिजनियर र डकर्मी आवश्यकताअनुसार खटाउनेछ। प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहको हुनेछ।

स्थानीय तहले नगरपालिका/गाउँपालिकाभित्र आवश्यकताअनुसार सम्बन्धित वडामा उल्लेखित जनशक्तिलाई व्यवस्थापन गर्नु पर्नेछ। सम्बन्धित वडाका वडाध्यक्षको सिफारिशमा नगरपालिका/गाउँपालिकाका प्रमुख/अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेको आधारमा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइले सम्बन्धित कर्मचारीको तलबभत्ता उपलब्ध गराउने सहमति भएको छ।

प्राधिकरणले कर्मचारी व्यवस्थापन गरेपश्चात् स्थानीय तहमा रहेका सिनियर इञ्जिनियरबाट प्रमाणीकरण गरेपछि स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले प्रमाणित गरेर निचोड तयार पारिने र प्रमाणित भएर आएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत् भुक्तानी दिने व्यवस्था मिलाइने बताइएको छ।

सहमतिपत्रमा नगरपालिका/गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने, नगरपालिका/गाउँपालिकामा खटिएका कर्मचारीले पदीय आचरणविपरीत कार्य गरेको भेटिएमा नगरपालिका/गाउँपालिकाले कारवाहीका लागि प्राधिकरणको इकाइलाई सिफारिश गर्ने, निजी आवास पुनर्निर्माणसम्बन्धी तथ्यांक, अभिलेख, दस्तावेज प्राधिकरणबाट क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिनेछ।

सांसद केदार सिग्देल, प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्मा, प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख गणेशराज वस्तीलगायतको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो।

तनहुँ जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएका छन् भने ९६ प्रतिशतले पहिलो, ४० प्रतिशतले दोस्रो र १० प्रतिशतले तेस्रो किस्ता वापतको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख इञ्जिनियर दीपेन्द्रकुमार रोहितले जानकारी दिए। '१३ हजार २६८ ले पहिलो, पाँच हजार १९६ ले दोस्रो र एक हजार ३१२ ले तेस्रो किस्तावापतको रकम बुझेका छन्,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.