|

कञ्चनपुर ः कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीमा पहिलो पटक परीक्षणका रुपमा साहसिक जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गरेको छ।  भीमदत्त नगरपालिका ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा र्‍याफ्टिङ गरिएको हो।

गत आर्थिक वर्षमा नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि स्थलगत अध्ययन गरिएको थियो। महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवर्द्धनका लागि महाकाली नदीमा र्‍याफ्टिङ परीक्षण गरिएको छ। महाकाली नदीमा पहिलो पटक परीक्षण गरिएको हो। भारतीय पक्षले नदीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म चलाउन सञ्चालन गर्न सकेको थिएन। नगरपालिकाले विशिष्ठ व्यक्तिको सहभागितामा पहिलो पटक परीक्षणका रुपमा नदीमा र्‍याफ्टिङ गराएको छ।

नेकपाका सुदूरपश्चिम अध्यक्ष एवं पूर्व उद्योग मन्त्री कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, डडेल्धुराका पूर्व सभापति गजेन्द्र शाहीसहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहभागी भएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह, कार्यपालिका सदस्य गीता ओली, वडा अध्यक्षहरू परमानन्द जोशी, लालबहादुर शाही, पत्रकारले मुसेट्टीबाट खल्लासम्म र्‍याफ्टिङको मजा लिनु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाली सेनाका मेजर विदुर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक विनोद श्रेष्ठ जलायात्रामा सहभागी भए।
'महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा केही काम गर्न खोजेका छौं। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका छौं' नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘महाकाली नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न परीक्षणका रुपमा यो कार्य गरिएको छ। यसलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य लिएर अघि बढेका छौं।’

‘महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि मुसेट्टीसम्म सहज पहुँच मार्ग र नीति नियम बनाएर निरन्तरता दिइने उनले बताए। सफल परीक्षण गरिएको छ। आगामी दिनमा निरन्तरता दिने गरी कार्यक्रम बनाउँछौ’ उनले भने। कैलालीको कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिले नदीमा तीन बोटमा पूर्वमन्त्री थापासहितका सहभागीलाई चढाएर साहसित्र जलयात्रा गराएको छ। महाकाली किनारमा पूर्व उद्योग मन्त्री थापा सहित सहभागी सबैले गोलो घेरा बनाएर महाकाली नदीको बहुउपयोग गरी समृद्ध भीमदत्त बनाउने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै र्‍याफ्टिङ सुरु गरिएको हो। 

पूर्वमन्त्री थापा, सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल र भीनपाका मेयर विष्टको नेतृत्वमा छुट्टाछुट्टै बोटमा यात्रा गरिएको छ। नेकपाका प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री थापाले भीमदत्त नगरपालिकाले सुरु गरेको साहसित्र जलयात्रा नगर र देश विकासका लागि महत्वपूर्ण हुने भएकाले प्रशंसा व्यक्त गरे। सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री रावलले महाकाली नदीमा साहसिक जलयात्राले भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए।

'हिजोसम्म महाकाली नदीको ढुंगा, बालुवा मात्रै प्रयोग गरियो, त्यसको बहुउपयोग सिद्धान्त अनुसार आज र्‍याफ्टिङको परीक्षण गरिएको छ। यो नयाँ काम हो' उनले भने, ‘यसबाट भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ। त्यसले पर्यटन प्रवर्द्धन हुन्छ। स्थानीको जीवन स्तरमा सुधार आउँछ।’

सकारात्मक सोचका साथ अघि बढे समृद्ध आउने उल्लेख गर्दैै मन्त्री रावलले साहसिक जलयात्रालाई पर्यटनका रुपमा विकास गर्न प्रदेश सरकार सहयोग गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.