|

पर्वत : म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण भएका छन्। शुक्रवार वडा नम्बर ४ ओखरबोटमा हेलिप्याड निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सात वटै वडामा हेलिप्याड निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपप्रमुख खरमाया बिटालुले जानकारी दिइन्।

गाउँपालिकाको वडा नम्बर १ को निस्कोट, २ को रुम, ३ को डाँडागाउँ, ४ को ओखरबोट, ५ को देवीस्थान, ७ को बिम डाँडागाउँमा हेलिप्याड निर्माण गरिएको छ। वडा नम्बर ६ दरबाङको छ्यारछ्यारेमा यसअघि नै हेलिप्याड निर्माण भएको थियो।

आपतकालीन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउन जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाको एक नगरपालिका र पाँच गाउँपालिकाका ४५ वटै वडामा हेलिप्याड बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मालिका गाउँपालिका र वडा कार्यालयले उपयुक्त जग्गा छनोट गरेपछि सुरक्षा निकाय, जनप्रतिनिधि, युवा क्लब र स्थानीयबासीको सहयोगमा हेलिप्याड निर्माण गरिएको हो। सबै वडामा हेलिप्याड निर्माण गर्ने मालिका गाउँपालिका नेपालकै पहिलो स्थानीय तह बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए।

सबै वडामा हेलिप्याड निर्माणपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गाउँहरुमा आकस्मिक बिरामी, दुर्घटना, प्राकृतिक प्रकोप र विपदको समयमा उद्धार तथा राहतको काम सहज हुने अपेक्षा गरिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले  प्राविधिक सहयोग गरेको थियो। गुल्मले रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पनि ‘एक वडा एक हेलिप्याड’ निर्माणका लागि तयारी गरिरहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.