|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार मैत्रीपूर्ण खेल हुँदैछ। 

नेपाल-जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेको अवसरमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा खेल हुन लागेको हो। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे सुरु हुने छ। 

केही दिन अघि मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन्। नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले केही खेलाडी घाइते भएकाले आफ्नो टोली दबाबकाबीच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताएका छन्। 

जापानी टोलीको प्रशिक्षक समेत रहेका खेलाडी टोडा काजुयुकीले सोलिडारिटी कपमा आफूले नेपालको खेल हेरेर नेपालको सामना गर्न राम्रो तयारी गरेको बताएका छन्। उनले वर्तमान नेपाली प्रशिक्षक रहेका कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनको टोलीसँग खेल्न उत्साहित रहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.