|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ। प्रदेशसभाको सचिवालयले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन सूचना पठाइसकेको जनाएको छ।

माघ ४ बजे शुक्रबार दिउँसो २ बजे बैठकमा उपस्थित हुन मोबाइलमा म्यासेज पठाउने काम भइरको प्रदेश सभा सचिवालयका शाखा अधिकृत शेखर रोकायाले बताए।  ‘बुधबार अबेर प्रदेश प्रमुखबाट सूचना आयो , अहिले सबै माननीज्यूहरूलाई म्यासेज पठाउने काम भइरहेको छ’ उनले भने।

गत असोज २३ गते प्रदेश सभाको दोस्रो अधिवेशन सम्पन्न भएको थियो। तीन महिनापछि सुरु हुन लागेको तेस्रो अधिवेशनको अन्तिम तयारीमा रहेको प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताए। ‘शुक्रबार आह्वान हुने अधिवेशनको कार्यसूचीका लागि बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ,’ सभामुख थापाले भने, ‘पहिलो दिन संसदमा प्रतिनिधित्व गरेका दलका तर्फबाट धारणा राख्नदिने र माघ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने निर्णय समेत कार्यव्यवस्था परामर्श समितिले पारित गर्नेछ।’

प्रधामन्त्री ओलीले माघ २० गते धनगढीमा हुने अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। यही अवसरमा २० गते नै संसदलाई सम्बोधन गर्ने गरी तयरी भइरहेको सभामुख थापाले बताए। ‘प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको संसदलाई सम्बोधन गर्नुभयो भने यहाँका मेघा प्रोजेक्टमा फाइदा पुग्छ’, सभामुख थापाले भने। 
 

दुई विधेयकको भरमा अधिवेशन

प्रदेशसभा सचिवालयमा हाल सम्म दुई विधेयक मात्रै दर्ता भएका छन् । सरकारले दर्ता गरेको दुईवटा विधेयकमा टेकेर सभामुख थापाले अधिवेशनआह्वान गरेका हुन्। ‘प्रदेशसभा सचिवालय व्यवस्थापन सम्बन्धी विधेयक २०७५’ र ‘सुदूरपश्चिम प्रदेशको सहकारीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५’ संसद सचिवालयमा दर्ता भएका छन्।

‘हामी कहाँ धेरै विधेयक दर्ता भएका छैनन् तर, प्रदेश सरकारसँग समन्वय गर्दा हामी एकदम तयारी छौँ। त्यो बेलासम्म 'बिजनेस' दिन्छौँ भनेकोले हामीले अधिवेशनआह्वान गरेका हौँ’, दुई विधेयकको भरमा अधिवेशनआह्वान बारे सभामुखले स्पष्ट पारे।

प्रदेश लोकसेवा र प्रदेश प्रहरी प्राथमिकतामा 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखाका प्रमुख वीरेन्द्र केसीले अहिले दुईवटा मात्रै विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएपनि केही समयमै अन्य केही महत्त्वपूर्ण विधेयक संसदमा लैजाने तयारी गरेको बताए। ‘सबै विषयगत मन्त्रालयहरूले विषयगत विधेयक तयारी गरिरहेका छन्’, प्रमुख केसीले भने, ‘सामाजिक विकास मन्त्रालयको  सुदूरपश्चिम आयुर्वेदिक प्रतिष्ठानसम्बन्धी विधेयक अन्तिम तयारीमा छ।’

प्रदेश लोक सेवा आयोगसम्बन्धी विधेयक र प्रदेश प्रहरी लगाएतका विधेयकहरू पनि हिउँदे अधिवेशनमा पारित गर्नेगरी तयारी भइरहेको उनले दाबी गरेका छन् । ‘प्रदेश लोक सेवा आयोगसम्बन्धी मापदण्ड तय गर्नेगरी संघीय संसदमा प्रस्ताव पेश भएको छ। त्यो मापदण्ड पारित भएलगत्तै हामी प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक तयार गर्छाैँ’, केसीले भने । प्रहरी ऐन संघीय संसदमा रहेकाले केही समयमा प्रदेश प्रहरी ऐन पनि तयार हुने उनले दाबी गरे।

गतवर्ष माघ २१ गते बाट सुरु भएको पहिलो अधिवेशन वैशाख २० गते अन्त्य भएको थियो। जेठ २ गते सुरु भएको दोस्रो अधिवेशन असोज २३ मा सम्पन्न भएको थियो। हालसम्म सभाले १७ वटा विधेयक पास गरेको छ । प्रदेशको स्थायी राजधानी र नामांकनसमेत पारित भएकाले दोस्रो अधिवेशनमा केही नियमावली समेत पारित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.