|

पर्सा : पाँचथरमा झापा ११ सँग हार खेपेको नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मीले वीरगन्जमा हारको बदला लिँदै झापा ११ लाई पराजित गरेको छ। आर्मीले बिहीबार झापा ११ लाई १ का विरुद्ध ६ गोल गरी पराजित गरेको हो। यो जितसँगै त्रिभुवन आर्मी वीरगन्जको नारायणी रंगशालामा भइरहेको बिशाल मेमोरियल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  

गएको पुस ३० गते पाँचथरको रूस्लान दशौं फाल्गुनन्द गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी र झापा ११ का बीच भएको भिडन्तमा झापा ११ ले आर्मीको बी टिमलाई पराजित गर्दै उपाधि उचालेको थियो। त्रिभुवन आर्मीको बिहिबारको जित यात्राले पर्सी वीरगन्जमा हुने काठमाडाैंको हिमालयन शेर्पासँगको फाइनल भिडन्तको यात्रा पनि पक्का गरेको छ। पाँचथरमा फाइनलमा भिडेका दुवै टिम वीरगन्जमा भने सेमिफाइनलमा भिडेका हुन्। वीरगन्जको भिडन्तमा भने झापा ११ लाई आर्मीले निकै ठूलो गोलको अन्तरले पराजित गरेको छ। 

खेलको दुई मिनेटमा नेपाल आर्मीका जर्सी नम्बर २२ का टेकबहादुर बुढाथोकीले आर्मीका लागि गोल गरी दिलाएको अग्रता अन्तिम समयसम्म पुग्दा ६–१ मा पुगेर टुंगियो। आर्मीका बुढाथोकीले नै दोस्रो हाफको ७४ औं मिनेटमा पनि अर्को गोल गरेका थिए। पहिलो हाफमा आर्मीका जर्सी नम्बर १४ का सन्तोष तामाङले १४ र २४ मिनेटमा दुई गोल गरी हाफ टाइममा नै झापाविरुद्ध ० काविरुद्ध ३ गोल गरी टिमलाई विजय लक्ष्यतर्फ उन्मुख गराएका थिए। 

पहिलो हाफमा नै अग्रता लिएको आर्मीलाई झापा ११ को गोलपोष्टतर्फ हानेको बल जोगाउने क्रममा झापा ११ का जर्सी नम्बर १२ का लक्ष्मण वेघाबाट खेलको ७० औं मिनेटमा आत्मघाती गोल लागेपछि त्रिभुवन आर्मीको गोल संख्या ० का विरुद्ध ४ भयो। यसको लगतै ७४ औं मिनेटमा आर्मीका जर्सी नम्बर २२ का बुढाथोकीले गरेको गोलले आर्मीलाई ० का बिरुद्ध ५ गोलको परिणाममा पु¥यायो। खेलको ८८ औं मिनेटमा फेरि आर्मीको जर्सी नम्बर ३ का बिवेक बस्नेतले अर्को थपेपछि आर्मी टिमको नाममा ६ गोलको परिणाम दर्ज भयो। 

खेलको ७९ औं मिनेटमा झापा ११ का जर्सी नम्बर ७ का आशिष चापागाईंले आर्मीको गोलपोष्टमा गरेको एक मात्र गोलले झापा ११ का पहिलो खाता खोलेको हो। यो हारले झापा ११ लाई उपाधी भिडन्तबाट पनि बाहिर राखेको छ। आर्मीलाई भने विजेताले पाँचलाख ५५ हजार ५५५ र उपविजेताले दुईलाख ७७ हजार ७७७ रुपैयाँ र शिल्ड प्राप्त गर्ने आगामी शनिबार हुने फाइनल भिडन्त खेल्ने बाटो खोलिदिएको छ। आजको विजेता आर्मी र हिजोको विजेता हिमालयन शेर्पाबीच अब फाइनल भिडन्त यात्रा पक्का भयो।

गतबर्ष पनि वीरगन्जमा भएको फाइनलमा नेपाल आर्मीको विभागीय टिमले नै उपाधि जितेको थियो। यो वर्ष पनि सेमिफाइनलबाट फाइनलतर्फ आर्मी टिम अगाडि बढ्यो बिशाल मेमोरियल फाउण्डेशन वीरगन्जका अध्यक्ष अनिल प्रसाद कलवारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.