|

धनगढी : कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन्।

आइतबार बिहान साढे ५ बजेतिर श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफूले झुण्डिएर आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले जानकारी दिए। श्रीमतीको टाउकोमा दुईपटक बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ। ‘श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको पाइयो’ प्रहरी उपरीक्षक तिमिल्सेनाले भने, ‘स्थानीयले देखेपछि हामीलाई खबर गरेका हुन्।’

घरको बार्दलीमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चौधरीलाई डोरी काटेर बचाउने प्रयास भएको थियो। उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले भने मृत घोषणा गरेको प्रहरीले जनाएको छ। श्रीमतीको घटनास्थलमै र श्रीमानको टीकापुर अस्पतालमा ज्यान गएको हो। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तिमिल्सेनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.