|

दार्चुला : स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डे डेढ वर्षपछि दार्चुलाका सबै स्थानीय तहहरूबाट बैंकिङ सेवा सुरु भएको छ। गत हप्ता मात्रै व्याँस गाउँपालिकामा माछापुच्छ्रे बैंकको शाखा खुलेसँगै जिल्लाका सबै तहबाट बैंकिङ सेवा सुरु भएको हो।

जिल्लाका नौंवटै स्थानीय तहमा बैंक स्थापना भएपछि स्थानीयलाई बैंक कारोवार गर्न सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ। बैंकको नियमित बैंकिङ कारोवार गाउँ मै हुन थालेपछि स्थानीयलाई सजिलो भएको दुहुँ गाउँपालिका २ हिकिलाका स्थानीय हरकसिह बडाल बताउँछन्। गाउँमै बैंक स्थापना भएपछि दैनिक वचत गर्न, कारोवार गर्न धितो राखेर ऋण निकाल्न र आफूलाई चाहिएको बेला रकम निकाल्न सकिने हुँदा स्थानीलाई सजिलो भएको सोही वडाका लालसिह बडालले बताए।

अपरझट रकमको आवश्यकता पर्दा एक दिन लगाएर सदरमुकाम खलंगा दगर्नु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाई छ। बैंक स्थापनाको एकमहिना हुनै लाग्दा दुहूँ गाउँपालिकाको केन्द्र हिकिलामा स्थापना गरिएको इन्भेस्टमेण्ट बैंकमा पौने दुईकरोड रकम जम्मा भइसकेको छ भने दुई स्थानीयले आफ्नो खाता समेत सञ्चालनमा ल्याएका छन्। ‘गाउँमा बैंक स्थापना भएपछि स्थानीय हर्सित मात्रै भएका छैनन्। ६ जना स्थानीयले ऋण लिएर कारोवार समेत सुरु गरेका छन्’ बैंकका प्रबन्धक बीरेन्द्रसिह काकीले बताए।

राष्ट्र बैंकसँगको पत्राचार ढिलो भएका कारण दुहुँ, व्याँस, अपिहिमाल, मार्मा र लेकम गाउँपालिकामा स्थापना गरिएका बैंकहरूले सरकारी कारोवारको थालनी गर्न सकेका छैनन्। लेकम गाउँपालिकामा स्थापना गरिएको लक्ष्मी विकास बैंकले राजवश्वको काम नगर्ने भएकाले राजश्व दाखिला गर्न समस्या भएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले जानकारी दिएका छन्।

एकहप्ता अगाडि व्याँस गाउँपालिकामा स्थापना गरिएको माछापुच्छ्रे बैंकको शाखाले पनि राष्ट्र बैंकको पत्र नआउँदा सरकारी खाता सञ्चालन गर्ने काम गर्न नसकेको बताउँदै गाउँपालिकाबाट राष्ट्र बैंकलाई खाता सञ्चालनका लागि पत्राचार भई सकेकाले केही दिनमै खाता सञ्चालन गर्न सकिने बैंकका प्रबन्धक सुमन पन्तले जानकारी दिए।

ग्रामीण क्षेत्रमा स्थापना गरिएका बैंकहरूले इन्टरनेटको समस्या झेलिरहेकाले चाहेको जस्तो सेवा दिन नसकेको गुनासो पनि छ। खाता खोल्न नै १० दिन लाग्ने भएपछि स्थानीयले गुनासो गर्न थालेको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी गराउनु भएको छ। जिल्लाका दुर्गम क्षेत्रहरू अपिहिमाल, मार्मा, व्याँस, लेकम गाउँपालिकाहरूमा इन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा बैंकिङ कारोवारमा समस्या आएको छ।

दार्चुलाको महाकाली नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक लगायत एक दर्जन बैंकहरूले सेवा प्रवाह गरिरहेका छन् भने शैल्यशिखर नगरपालिकामा जनता, मेघा र महालक्ष्मी विकास बैंकले सेवा दिइरहेको छ। त्यसैगरी व्यास, अपिहिमाल र मालिकार्जुनमा माछापुच्छ्रे बैंक, दुहुँ गाउँपालिकामा इन्भेस्टमेन्ट, लेकममा लक्ष्मी विकास, मार्मामा सनराइज र नौगाड गाउँपालिकामा जनता बैंकले सेवा दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.