|

डडेल्धुरा : डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ असिग्रामकी विष्नादेवि जोशी अहिले ५६ वर्षकी भइन्। आजभोलि आलु खन्ने कामको चटारो छ उनलाई। आलु खनेरै दिनको पाँच सय रुयैयाँ कमाउँछिन् उनी। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भेटामा रहेको ठुल्खाली क्षेत्र केही वर्ष पहिले उजाड रहेको र अहिले कायापलट भई आलु बिउ खेती भइरहेको कुरामा विष्नादेवी स्वयं अचम्मित छिन्। ‘म बिहे गरेर यस ठाँउमा आउँदा पूरै डाँडा बाँझो थियो खाली घाँस मात्र थियो।’ विगत सम्झदै उनले भनिन्, ‘यस्तो परिवर्तन होला भनेर हामीले सपनामा पनि देखेका थिएनौँ।’

उनले अघि थपिन्, ‘आजभोलि तरकारी पनि प्रशस्त खान मिल्छ, दिनकै ज्यालाबाट घरको खर्च पनि चलेको छ। हामी देउरानी जेठानी मिलेर बिहान–साँझ घरको काम गरेर दिनभरी यही फर्म आएर हासो–मजाक गरी काम गर्छौ, घरमा परिवार पनि खुसी छन्।’ घरआगँनमै रोजगार पाएपछि घर खर्चको साथै बालबालिकाको पढाइ खर्चको पनि जोहो भएको उनले बताइन्।

‘यो आलु फर्म नखुल्दा हामी घरमा खाली बसेका थियौँ’ उनीभन्दा केही पर खनिएका आलु बोरामा खन्याउँदै गरेकी पद्मा अवस्थीले भनिन्, ‘पहिला आफ्नै खेतबारीमा काम गरेर दैनिकी चलाउन अप्ठ्यारो भएको थियो।’ ‘आजभोलि रोजगार पाएका छौँ, कमाएको पैसाले हाम्रा छोरा छोरीलाई पढाउँछौँ, औषधि खर्च पनि यहीँबाट आएको पैसाले गर्छौ, केही पैसा बचत पनि भएको छ’ उनले थपिन्।

उनी जस्तै भागेश्वर एग्रीक्चर एण्ड लाइभ स्टक प्राइभेट लिमिटेड भेटा ठुल्खालीमा ३० जना मजदुर काम गर्छन्। तीमध्ये एक अर्की हुन् बसन्तीदेवि अवस्थी। उनी पनि दिनभर त्यही फर्ममा काम गर्छिन्। तर, उनको कथा भने फरक छ। श्रीमान विदेश गएपछि उनको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आयो। भारतमा श्रीमानले कमाउने ८ हजारले उनलाई घर धान्न धौ–धौ परेको थियो। उनले भनिन्, ‘८ हजारमा घरको सरसामान किन्नुपर्ने, छोराछोरीलाई पढाउनुपर्ने झन त्यसमा कहिले विरामी पर्यो भने रुँनु नहास्नु हुन्थ्यो।’

‘घरमा बुढी सासू, तीन छोराछोरी छन्। कहिले श्रीमानले पैसा पठाउलान् भनेर कुरेर बस्थ्यौं।’ उनले थपिन्, ‘पठाएको पैसा पनि छिट्टै सकिहाल्थ्यो, छोराछोरी पनि खाजाको लागि कहिले ५० त कहिले १०० रुपैयाँ माग्थे एकदमै असजिलो परिस्थिति थियो।’

उनको दैनिकी त्यसै चलिरहेको बेला गाउँमा आलु बिउखेती फर्म खुल्यो। त्यहाँ काम गर्न थालेपछि उनको दैनिकी अहिले परिवर्तन भएको छ। अहिले उनी दिनकै चार सयदेखि पाँच सय कमाउन थालेकी छिन्। ‘उतिबेला समस्या थियो केटाकेटीको पढाइलाई पनि असर परिरहेको थियो तर अहिले राम्रै भएको छ।’ उनले भनिन्, ‘बाँझो जमिन राम्रो भएको छ। हामीलाई पनि रोजगार मिलेको छ, पैसाको त्यति समस्या छैन आजभोलि।’

गन्यापधुरा गाउँपालिका–१ भात्काँडाकी नन्दादेवि अवस्थी, बिहानै घरको काम सकाउँछिन्। अनि उनको दैनिक शुरु हुन्छ आलु खन्ने। उनको कमाउ पनि राम्रै छ। यहिँ काम गरेरको पैसाले उनले घरको खर्च चलाइरहेकी छन्।

‘यो फर्म खुलेपछि यहाँका हामी महिलालाईहरूलाई रोजगारी सिर्जना भएको छ। यहाँ काम गरेको पैसाबाट घरखर्च र बालबच्चाको पढाइ खर्च पनि यसैबाट चालिरहेको छ।’ उनले भनिन्,‘आजभोलि गाउँघरमा पनि खासै काम हुँदैन। यहाँका महिलाहरू बिहान घरको काम गर्छन, त्यसपछि यहाँ आएर काम गर्दछन्। कमाइ पनि भइरहेकै छ।’

८० रोपनी जमीन भाडामा लिएर फर्म संचालन

भागेश्वर एग्रीक्चर एण्ड लाइभ स्टक प्राइभेट लिमीटेडका प्रमुख संचालक दत्तराज अवस्थी जिल्लाभरी घुमेर आलुको बिउको समस्या देखेपछि आफूहरुले यो आलु बिउ फर्म खोलेको बताए। ५ जना साथी मिलेर बाँझो जमीनलाई सदुपयोग, रोजगारीको वातावरण सिर्जना तथा सम्पूर्ण जिल्लामा बिउ आलुको गुणस्तर कायम गर्ने उदेश्यले फर्म सञ्चालन गरेको उनको भनाइ छ।

‘ठुल्खालीमा लगभग ८० रोपनी क्षेत्रको जमीन भाडामा लिएर हामीले यो फर्म खोल्यौं। अहिले दैनिक १० देखि ३० जनाले यहाँ रोजगारी पाएका छन्।’ उनले भने, ‘पाँच जनाले २५ लाखको लगानी गरेर यही वर्ष ५० क्विीन्टल बिउ आलु र ७ हजार दाना पीभीएस लगाएका छौँ, यो बाँझो जमिनमा यस वर्ष चाहिँ खासै फल्ला जस्तो छैन, धेरै आम्दानी हुँदैन तर जमिनअनुसार ५ सय क्विन्टल फलेको छ।’

यस सिजनमा फलेको आलु सित भण्डारमा राखी भदौमा यहाँका किसानलाई वितरण गर्ने योजना रहेको सञ्चालक अवस्थी बताउँछन्। लगानी उठाउन कति समय लाग्ला? थाहाखबरको प्रश्नमा उनले भने,–‘हामीले लगाएको लगानी त २÷३ वर्षमै उठ्ला तर यस क्षेत्रका किसानलाई रोजगारी दिएका छौँ हामीलाई त्यसमा गर्व लाग्छ । दैनिक ३० जनाले काम पाएका छन् त्यो नै ठूलो कुरा हो।’

यसपछि यसै क्षेत्रमा भैँसीपालन गर्ने योजना उनको छ। भैँसीपालन गरेर प्राङगारीक तरकारी खेती समेत गर्ने उदेश्य बोकेको उनको भनाइ छ। सडकबाटो अप्ठ्यारो भएकाले फलेका आलु ढुवानीमा समस्या हुने तथा जगंली जनावरले समेत समस्या गर्ने गरेको उनले अन्त्यमा दुखेसो समेत पोखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.