'विवरण दिनुपर्ने कारण छैन, बुझाउँदैनौँ'

|

काठमाडौं : सरकारले मलेसियाको रोजगारीका लागि ‘कलिङ भिसा’ आएका कामदारको विवरण माग गरेको छ। म्यनापावर व्यवसायीहरूले आफ्ना समस्या श्रम मन्त्रालयले नसुनेको भनेर संसदीय समितिमा पुगेर गुनासो पोख्न थालेपछि श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गरेको छ।

विभागले १५ दिनभित्र सबै विवरण पेस गर्न म्यानपावर व्यवसायीहरूलाई आग्रह गरेको छ। कामदारहरूको आठ किसिमको विवरण माग गरिएको छ, जसमा कामदारको नामथर, राहदानी नम्बर, ईमेल, कलिङ भिसा दिने कम्पनीको ठेगाना र कलिङ भिसाको म्यादसम्म मागिएको छ भने नेपालबाट पठाउने म्यानपावर कम्पनीको ठेगाना पनि मागिएको छ।

वैदेशिक रोजगार व्यवासायी संघले २४ पुसमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा १५ हजार कलिङ भिसा प्राप्त भएका युवा मलेसिया जान रोकिएको बताएका थिए। तर सरकारले ईमेल र फोन नम्बरसहितको विवरण म्यानपावर कम्पनीबाट माग गरेको हो। ‘कति युवाको कलिङ भिसा आएको हो र कसरी पठाउन सकिन्छ भन्ने विषयमा पहल गर्नका लागि सूचना जारी गर्न लगाएका छौँ', श्रम मन्त्रालयका एक अधिकारीले भने।

उता, म्यानपावर व्यवसायीले भने सरकारले माग गरेको विवरण आफूले नबुझाउने बताएका छन्। 'हामीले यसभन्दा पहिले धेरै पटक विभागमा विवरण पेस गरेका थियौँ, अब विवरण पेस गर्नुको कुनै कारण छैन र दिँदैनौँ', संसदीय समितिमा १५ हजार कलिङ भिसा रहेको विवरण पेस गराएका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले भने, 'अहिले नौ हजार ३३४ कलिङ भिसा हामीसँग रहेका छन्।'

पछिल्लो सात महिनादेखि मलेसिया जान रोक लगाइए पनि २०७५ कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता गरिएको र त्यसपछि श्रममन्त्रीको व्यक्तिगत इगोका कारण मलेसिया पठाउन नसकिएको व्यवसायीको आरोप छ।

सरकारले कलिङ भिसा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिने प्रकिया भने सुरु गरेको छ। व्यवसायीहरूले सरकारलाई विवरण नबुझाउने तर अन्तिम श्रम स्वीकृतिका लागि श्रम विभागमा पेस गर्ने बताएका छन्।

आठ महिनादेखि मेलेसियाको रोजगारी रोकिएपछि वैदेशिक रोजगारीमा मलेसियाको हिस्सासमेत घटेको छ। गत वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा मलेसियाको हिस्सा ३६ प्रतिशत रहेको थियो तर चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा भने २.७ प्रतिशत मात्रै रहेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.