|

काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल अघि बढाउने कार्यसूचीसहित मंगलबार  दिउँसो तीन बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाली कांग्रेसले संसदको बैठकलाई अवरुद्ध पार्ने कोसिस गर्‍यो। 

संसद बैठक सुरु हुने वित्तिकै सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई छलफलका लागि प्रस्ताव गर्न रोस्टममा बोलाए। पोख्रेल रोस्टममा जाँदै दिए, कांग्रेसले रोस्टम घेरेर नारावाजी सुरु गरिहाल्यो। सभामुखले के भयो माननीयज्यूहरू भनेर सोध्दै थिए।

कांग्रेसले होहल्ला गर्ने वित्तिकै मर्यादापालकहरूले रोस्टम वरिपरी हातेसाङ्लो बनाए। कांग्रेस सांसदहरूले हातेसाङ्लोलाई पनि तोडेर नाराजुलुस गर्ने कोसिस गरिरहेका थिए। योबीचमा मर्यादापालकहरूलाई होहल्ला सम्हाल्न गाह्रै पर्‍यो।

होहल्लाकै बीचमा कांग्रेस सांसद पार्वता जिसी चौधरीले बोलिन – ‘तपाईंहरू जस्तो कुर्सी फालेर रोस्टममा जाँदैनौँ।’

चौधरीले सभामुख महरालाई नै पेल्ने रणनीति अख्तियार गरिन्। सभामुखले पनि संसद अघि बढाउने कोसिस गरे।  
‘अब म संसदको कारबाही अघि बढाउन चाहान्छु,’ सभामुख महराले बोले।

कांग्रेस सांसदहरूको होहल्ला थामिने कुरा भएन। सभामुखले पेल्न खोजेपछि कांग्रेसका सांसदहरूले थप होहल्ला र नारा जुलुस गर्न थाले।

कांग्रेस सांसद मिनेन्द्र रिजालले आफ्ना सांसदलाई यसरी नबोल्नुहोस् भने। सभामुखलाई पनि आफ्ना मुद्दामा ध्यान दिन आग्रह गरे।

रिजालले बोल्ने वित्तिकै सांसद गगन थापाले सभामुखलाई नै लक्षित गरेर अर्को ‘डाइलग’ पेले, ‘सभामुख भएर एउटा पार्टीको कार्यकर्ता जस्तो नगर्नुहोस्, यसरी संसद चल्दैन।’ फेरि पनि रिजालले सभामुखको मर्यादालाई ख्याल गर्न आग्रह गरे।

होहल्लाकै बीचमा अर्का सांसद उमाकान्त चौधरीले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे। सामान्यतया सांसदहरूले उठेर विरोध जनाएपछि संसद बैठक अघि नबढ्ने संसदीय परम्परा हुन्छ।

चौधरीले बोल्ने वित्तिकै अर्का सांसद प्रकाश स्नेहीले संसदीय मर्यादा कायम गर्न सभामुखलाई आग्रह गरे। त्यसपछि सुरु भयो कांग्रेसको नारा – संसदीय मान्यता कायम गर, कायम गर!

स्नेहीले आफूहरुलाई पेलेर जान खोजेमा कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए। त्यसपछि पालो आयो प्रकाशमान सिंहको। उनले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नामसँग जोडिएका स्वास्थ्य संस्थालाई संघ अन्तर्गत राखेर अघि बढाउने निर्णय नहुँदासम्म संसद चल्न नदिने बताए।

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्दै गर्दा तत्कालीन माओवादी सांसदले कुर्सीले नै प्रहार गर्ने कोसिस गरेका थिए। उक्त विषयलाई कोट्याएर कांग्रेसले आफूहरू गतिला हौँ भनेर उल्लेख गर्न खोजेको देखिन्छ। 

हाल प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.