|
File Photo

काठमाडौं : युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। 

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा उपसचिव समन्तमणि आचार्य र संघसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत सदस्य रहेको सो समित गठन गरिएको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले बताए। 

एन्फा निर्वाचनमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषय सार्वजनिक रुपमा उठेपछि खेलकूद मन्त्रालयले समिति गठन गरेको हो। एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेका सबै आरोप निराधार भएको बताउँदै आएको छ। 

काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोबारे छानबिन गर्न मन्त्रालयलेलाई पत्राचारसमेत गरेको थियो। 

आयोगको पत्रपछि मन्त्रालयले छानबिन समिति बनाएको हो। अख्तियारले युवा तथा खेलकूद मन्त्रालयलाई लेखेको पत्रमा पछिल्लो समय नेपाली खेलकूदमा भइरहेका गतिविधिबारे छानबिन गर्न र विशेषगरी एन्फामा भएको भनिएको भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो। 

गत पुस १७ गते फुटबल संघ काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए। यसैबीच एन्फा प्रवक्ता किरण राईले भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न वर्तमान नेृतत्व तयार रहेको बताउनुभयो । उनले छानबिन समितिलाई सहयोग गर्नेसमेत स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.