|

एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन्।

महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन्। आफू अमेरिकातर्फ लागेको उनले पतिलाई सुँइकोसम्म दिइनन्। दक्षिण टेक्सासको क्याथोलिक च्यारिटी शिविरको प्रांगणमा कुरा गरिरहँदा उनका छोरा त्यहीँ नजिकै खेल्दै थिए। बाबुले तातो पानी खन्याइदिएका कारण ती बच्चाको टाउकाको एक भागमा कपाल पनि छैन।

'म सधैँ अपराधीजस्तो भएर बाँचेकी थिएँ,' ३० वर्षीया ओर्बेलिनाले भनिन्, 'सधैँ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाउन चाहेको पर्खालले ओर्बेलिनाका जस्ता कथा साँचेका परिवारलाई रोक्ला भन्ने देखिन्न । हरेक महिना यस्तै कथा संगालेका हजारौं मानिस अमेरिका–मेक्सिकोको सीमा पार गरेर अमेरिका प्रवेश गरिरहेका छन्।

ट्रम्प प्रशासन ५ अर्ब ७० करोड अमेरिकी डलर खर्चेर मेक्सिको सीमामा करिब ३२० किलोमिटर लामो मजबूत पर्खाल बनाउन चाहन्छ। यो पर्खालमध्ये अधिकांश भाग दक्षिण टेक्सासमा पर्दछ। अरु ठाउँभन्दा यही विन्दुबाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै छन्।

कंग्रेसले यही क्षेत्रमा ५३ किलोमिटर नयाँ तारबार लगाउन बजेट विनियोजन गरिसकेको छ। यो नयाँ तारबारको अधिकांश हिस्सा उत्तरतर्फको रियो ग्रान्डेमा रहनेछ। रियो ग्रान्डेले संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच प्राकृतिक सीमा (जलक्षेत्र)को पनि प्रतिनिधित्व गर्दछ। यस विन्दुबाट अमेरिका प्रवेश गर्नेहरूले शरणका लागि अमेरिकी अधिकारीसमक्ष आवेदन दिन पाउँछन्।

पर्खाल निर्माणको बजेट पारित गर्नेतर्फ राष्ट्रपति ट्रम्प र सिनेट रिपब्लिकनको पछिल्लो प्रस्तावले अमेरिकामा शरण चाहनेहरूका लागि आवेदनलाई अझ कडा बनाउनेछ। प्रस्तावमा शरण दिनुअघि 'राष्ट्रिय हित'लाई पहिलो प्राथमिकतामा राखिने उल्लेख छ। अमेरिका आइपुगेका सबै मध्य अमेरिकी बालबालिकाको नामदर्ता गर्दा उनीहरुकै देशको नाम लेखिनेछ, अमेरिका लेखिने छैन।

राष्ट्रपति ट्रम्पले शनिबार गरेको सम्बोधनमा यी प्रावधानका बारेमा केही बताएका छैनन्। तर अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनका निर्देशक ग्रेग चेनले आफूहरू ऐतिहासिक परिवर्तनको पक्षमा रहेको तर राष्ट्रपतिको प्रस्ताव स्वीकार्य नरहेको बताए। विपक्षी डेमोक्र्याट पार्टीका वरिष्ट नेताहरूले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरिसकेका छन्।

रियो ग्रान्डे भ्यालीको क्याथोलिक च्यारिटीका कार्यकारी निर्देशन सिस्टर नोर्मा पिमेन्टलले संस्थाको शिविरमा आश्रित कतिपय आप्रवासी परिवारहरुले गैरकानुनी तरिकाबाटै रियो ग्रान्डे नदी तर्ने चाहना राखेको बताए।

'हामीले सीमालाई सुरक्षित गर्नुपर्छ भन्नेमा दुईमत छैन, र हामीले हाम्रो देशलाई अपराधीहरुबाट पनि सुरक्षित राख्नै पर्दछ,' पिमेन्टलले भने। राष्ट्रपति ट्रम्पले निर्दोश आप्रवासीलाई भेट्न आवश्यक रहेको बताउँदै उनले भने, 'ट्रम्पले बालबालिकालाई भेट्नु आवश्यक छ र यहाँ रहेका ठूलो संख्याका परिवारले संरक्षण र सुरक्षा चाहेका छन्।'

डेसी यानिरा सेन्टेनो पनि एल साल्भाडोरबाट भागेको एक महिनापछि अमेरिका–मेक्सिको सीमामा आइपुगेकी थिइन्। केही बदमास समूहले उनकी १५ वर्षीया छोरीलाई धाकधम्कीसमेत दिएका थिए।

सेन्टेनोले सुनाइन्, एक जना मानव तस्करले पुलको बाटोभन्दा रियो ग्रान्डेबाट अमेरिका प्रवेश गर्नु सहज हुने बताएका थिए। पुलको बाटो हुँदै अमेरिका प्रवेश गर्नेहरूलाई अमेरिकी भन्सार अधिकारीहरुले अनेक दुःख दिएर निवेदन दर्ता नगरिदिने प्रवृत्ति रहेको छ। त्यहीकारण, उनले आफू, छोरी र अरू दुईजना ७ र ११ वर्षका बालबच्चाका लागि डुंगा चढ्न जनही २० डलर तिरिन्। नदीमा डुंगा ढलपल गरी विस्तारै चल्दा आफू असाध्यै त्रसित भएको उनले सुनाइन्।

'त्यतिखेर जीवन र मृत्युको अनुभव भयो,' उनले भनिन्, 'तपाईंलाई थाहा छ, त्यतिखेर मलाई किन आफ्नो देश छाडेर यहाँ आएँ भन्ने लाग्यो।'

अरू कैयौंले अवैधानिक किसिमबाट नदी तर्न चाहेनन्। उनीहरूले मान्यताप्राप्त बाटोबाटै अमेरिका जान जिद्दी गरिरहेका थिए। दक्षिण टेक्सास र त्यस आसपासका धेरै ठाउँका सीमामा अमेरिकी भन्सार अधिकारीहरूले आप्रवासीको निवेदन प्रशोधन गर्न असाध्यै ढिला गरिदिन्छन्। आवेदन गर्न खोज्ने हजारौं हुन्छन्, तर असाध्यै कमको मात्र निवेदन लिइन्छ। त्यहीकारण, मानिसहरू पुलमै धर्ना दिएर बस्छन् अथवा मेक्सिकोमा रहेका शिविरमा पालो कुरेर बस्छन्।

'तपाईंले हामीहरू अमेरिकाका लागि खतरा हौं भन्न सक्नुहुन्न,' भार्गासले भनिन्, 'हामी यहाँ धैर्यपूर्वक बसिरहेका छौं, यसको मुख्य कारण नै कानुनी तरिकाबाटै सबै कुरा होस् भन्ने हामी पनि चाहन्छौं।'

ट्रम्प प्रशासनका अधिकारीहरू भने अमेरिका प्रवेश गर्ने नाममा आप्रवासीहरुले गैरकानुनी दाबी गरिरहेको तर्क गर्दछन्। अध्यागमन अदालतहरुले शरणका लागि चित्तबुझ्दो आधार प्रस्तुत नगरेको भन्दै गत वर्ष करिब ६५ प्रतिशत आप्रवासन मुद्दाहरू नै खारेज गरिदिएका थिए।

प्रशासनले शरणको अधिकारलाई सीमित गर्न निकै लामो समयदेखि प्रयास गरिरहेको छ। गत वर्ष डिसेम्बरमा एकजना संघीय न्यायाधीशले घरेलु हिंसापीडितलाई शरण नदिने भन्ने अमेरिकी प्रशासनको नीतिगत परिवर्तनको आदेशलाई उल्ट्याइदिएका थिए। त्यसपछि अमेरिकी गृहसुरक्षा विभागले अमेरिकामा शरणको माग गर्नेहरुलाई मेक्सिकोमै केही समय रोकिन आग्रह गरेको थियो।

सीमामा थुप्रिएका अधिकांश मानिसलाई त्यहाँसम्म आइपुग्न धेरै साता लागेको थियो। हजारौं किलोमिटरको यात्रा गरेका उनीहरूले पैदल हिँडेर वा गाडी भाडामा लिएर अमेरिकाको सीमासम्म आइपुगेका थिए।

तर क्याथोलिक च्यारिटीमा रहेबसेका महिलाहरूले आफूहरूसँग अरू कुनै विकल्प बाँकी नरहेको बताएका छन्। शिविरमा निराश मुद्रामा भेटिएकी ओर्बेलिनाले मदिरा सेवन गरेर आउने उनका पतिले दिनहुँ रातिराति कुटपिट गर्ने गरेको दुःखेसो पनि सुनाइन्। 'कहिलेकाहिँ उनले केटाकेटीहरूलाई पनि पिट्ने गर्दथे', उनले भनिन्, 'मैले पतिको ज्यादतिका बारेमा प्रहरीकहाँ पनि उजूरी दिएँ। तर प्रहरीमा पतिले उल्टै मैले कुटपिट गरेको बताउँथे। उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेन।'

उनले थपिन्, 'मैले छ महिना लगाएर भाग्ने योजना बनाएँ, पैसा खोजें र अमेरिकाको क्यालिफोर्नियामा रहेका आमाबुबाले पनि पैसा पठाइदिए। उनी टेक्सासको प्रोग्रेसोको बाटो हुँदै आधिकारिक रुपमा अमेरिका प्रवेश गरेकी छन्।

उनी आमाबाबुसँग चाँडै भेट्न पाइनेमा ढुक्क छन्। उनी अमेरिकामै पारपाचुकेको निवेदन दिने र अमेरिकी कानुनबमोजिम संरक्षण आदेश लिने योजनामा छन्। 'म यहीँ काम गर्ने र छोराछोरी हुर्काउने आशामा छु,' ओर्बेलिनाले भनिन्, 'म उनीहरू खुशी भएको हेर्न चाहन्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.