ब्लग

मृत हुँदै कलम
SHARES

माघ २१, २०७५

    मैले पत्रकारिता गर्न थालेको झण्डै दुई दशक हुन थाल्यो। पत्रकारितामा धेरै आरोह र अवरोह पार गर्न पाएको छु। धेरै मिडियामा लेख, रचना र समाचार वाइलाइनमा लेखिसकेको छु। यो ढुक्कसँग भन्न सक्छु आजसम्म मैले कुनै पनि कसैसँग पनि सम्झौतामा पत्रकारिता गरेको छैन। बरु सस्तो श्रम गरेर पत्रकारितामा बाचिरहेको छु। मलाई पत्रकारिताका लागि दुर्गम विकट क्षेत्र मन पर्छ। त्यसैले धनगढी, काठमाडौंमा रहेर पत्रकारिता गरेर अहिले कालिकोटमा पत्रकारिता गर्दैछु।

    मैले समाचार लेख्दाका केही रोचक प्रंसग छन्। केही साताअघि ‘जनप्रतिनिधिहरूको सवारी साधन मोह’ समाचार लेखेँ। कालिकोट जस्तो विकट जिल्लामा बिरामी बोक्न एम्बुलेन्स छैन। तर, कालिकोटका सबै स्थानीय तहका जनप्रतिनिधिहरूले सवारी साधन खरिद गरेका छन्। त्यो समाचार लेखिसकेँपछि एक जना जनप्रतिनिधिले ‘तपाईँले हामीलाई राज्यले दिएको सेवा सुविधा रोक्ने समाचार लेख्ने?’ भनेर प्रश्न गरे। ती जनप्रतिनिधिलाई के थाहा रहेनछ भने नेपाल सरकारको कुनै कानुनमा पनि जनप्रतिनिधिका लागि अनिवार्य सवारी साधन दिने भनेको छैन भनेर। मैले उनलाई जवाफ दिए ‘तपाईँ आफैँ आफ्नो कार्यविधि बनाएर सवारी साधन चढ्नु भएको हो। राज्यको कुनै कानुनमा जनप्रतिनिधिलाई सवारी साधन दिने भनेको छैन।’ अहिले ती जनप्रतिनिधि बदला लिने भन्दैछन् रे !

    पत्रकारितामा त्यही आरोप लाग्न थालेको छ। मिडियाहरू विज्ञापन पाउन समाचार लेख्न थालेँ र विज्ञापन पाएपछि चुप लाग्छन्। मिडियाका कर्पोरेट हाउसका मालिकहरूले भनेको अनुसार चल्न थालेँ र सम्पादकीय स्वतन्त्रता मर्दै गयो। 

    एक दशकअघि मैले एउटा समाचार पश्चिम नेपालमा खोटो संकलनमा बढी विषादी हालिएका कारणले सल्लाका रुख सुक्न थाले भनेर समाचार लेखेँ। समाचार दिन नै खोटो संकलन गर्ने कम्पनीका म्यानेजरले फोन गरेर तपाईँले लेखेको समाचारका कारणले मेरो परिचय ठाउँ-ठाउँमा हुन पायो। तपाईँलाई बधाई छ। चिया सँगै खाऔँ। भेटौन सर भने। म उनको चिया खान गइन्। धन्यवाद भनेर टारिदिए।

    यसको दुई वर्षअघि कालिकोट जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी लिएर असार मसान्तमा नजिकिँदै गर्दा एलडिओ साव सिक्किम भ्रमणमा गएका थिए। त्यो समाचार मैले राष्ट्रिय पत्रिकामा लेखेँ। उनलाई मन्त्रालयबाट फोन गरेर किन गएको भनेछन्। तर, ती एलडिओ यति खुसी थिए कि पछि भेट हुँदा 'तपाईँ समाचार लेखेका कारण म सिक्किम भ्रमण गएको कुरा देशभर प्रचार भयो। तपाईँलाई धन्यवाद' भने।

    ७० दशकको सुरुमा नै म कालिकोटको एउटा स्थानीय पत्रिकामा काम गर्न आएको थिए। यहाँ आउँदा धेरै बेथिति देखेँ। त्यसविरुद्ध समाचार लेखेँ। आएको दुई महिनामै लखेटिनु पर्‍यो। फेरि सबैको पहलमा स्थापित कालिकोट जिल्लामा भएँ। तर, यता त्यही कारणले हो कि क्या हो। सिधा औला त कसैले उठाउदैँन्। ठाउँ ठाउँमा अपमानित चाहिँ हुनु परेको छ।

    एक जना पत्रकार मित्रले मलाई ‘तपाईँले धेरै विषयमा समाचार लेखेर के हुन्छ?’ छाडिदिनुस् भने।  

    यी उदारणहरूले के देखाउँछ भने देशका कर्मचारी, नेता, जनप्रतिनिधि, समाजका बौद्धिक वर्ग कसैमा पनि आलोचनात्मक चेत छैन। सुझाव ग्रहण गर्ने सामर्थ्य राख्न सक्दैन। सबैले कलमलाई केवल मृत बनाउन चाहन्छन्। जीवित कलमसँग समाजमा हरेक गलत काम गर्ने मानिस डराउनु पर्ने हो। तर, उ निर्धक्क भन्छ, ‘कलम केवल मृत अवस्था छ।’

    समाजका हरेक क्षेत्रले अहिले कलमलाई मृत बनाउन खोजेका छन्। नेपालमा एनसेल कर छली, वाइडवडी लगायतका अर्बौँ भष्ट्राचार भएका छन्। अख्तियारले केवल १५ सय भष्टाचार गर्ने पक्राउ गर्छ। अर्बौँ भष्ट्राचार भयो भनेर अघिल्लो दिन समाचार लेख्ने कर्पोरेड मिडिया हाउसहरूले भोलिपल्ट ज्याकेट विज्ञापन पाउँछन् र अनलाइनहरूको रुट ब्लक हुन्छन्। अनि मिडिया मालिकहरू पनि बौद्धिक पत्रकारहरूको हातमा रहेको जीवित कलमलाई मृत बनाउन लागि पर्छन्। पत्रकारहरू आफ्नो रोजीरोटीका लागि गुपचुप त्यो कुरा सहन्छन्।  

    नेपालका बौद्धिक जगतले ठूलो आलोचना गरेर लेखेको हुन्छ। अर्को बौद्धिक भन्ने मानिसले उसको खुब समर्थनमा लेखेको हुन्छ। समाजको ऐना भनिएकाहरूबीच यस्तो स्थिति भए समाजले सही सूचना कहिले पाउने?

    समाजमा रहेका बौद्धिक मानिससँग आलोचनात्मक चेत हराउँदै गएमा समाज गुमराहमा रहन्छ। बौद्धिक मानिसले समाजलाई सही दिशा दिन हरेक गतल प्रवृत्ति, गलत विचार र सरकारले गर्ने हरेक कदमको दूरगामी असर, फाइदा, महत्त्वबोध गर्नुपर्ने हुन्छ। बौद्धिक जगतले यो काम गर्न सकेन भने समाज कुन अवस्थामा रहन्छ, त्यो भन्न सकिन्न। 

    अहिले नेपाली समाज र विश्वमै पनि बौद्धिक जगतलाई एउटा आरोप लाग्दै आएको छ- सत्ताको वरिपरि घुम्ने। बौद्धिक वर्गले पदका लागि सत्ताको गुणगान गाउन थालेँ। 

    पत्रकारितामा त्यही आरोप लाग्न थालेको छ। मिडियाहरू विज्ञापन पाउन समाचार लेख्न थालेँ र विज्ञापन पाएपछि चुप लाग्छन्। मिडियाका कर्पोरेट हाउसका मालिकहरूले भनेको अनुसार चल्न थालेँ र सम्पादकीय स्वतन्त्रता मर्दै गयो। 

    विश्व केही जसले आफूलाई सबैभन्दा लोकतान्त्रिक भन्छन्। ती देशका शासन गर्नेहरूले आलोचना गर्नेलाई हत्या गर्ने, धम्की दिने र मार्ने क्रम तीव्र भएको छ।

    साउदी अरेबियाको राजपरिवारका आलोचक पत्रकार जमाल खग्गोसी सन् २०१८ को अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा हत्या भयो। भारतमा पनि जेएनयु विश्वविद्यालयका वामपन्थी विद्यार्थी कन्यैहा कुमारविरुद्ध मुद्दा दायर भएको छ। चीनको कुरा छोडौँ नेपालमा पनि त्यसको प्रारम्भिक झिल्का देखिदैँछन्। जस कारण यो आर्थिक वर्षमा मात्र समाचार लेखेको निहुँमा १५ जनाभन्दा बढी पत्रकारलाई प्रहरीले साइबर कानुनमा मुद्दा चलाएको छ। 

    जहिले पनि, जुनसुकै देशमा शासकीय स्वरूप र चरित्र भनेको स्वस्थ्य आलोचना सहन गर्न सक्ने क्षमता हुँदैन। नेपालमा अहिलेका तीनै तहका सरकार मन्त्री, स्थानीय सरकारका प्रतिनिधिहरूले ठाउँ ठाउँमा मिडियाप्रति सार्वजनिक आलोचना गर्दैआएका छन्। उनीहरू भन्दछन् ‘हामीलाई मिडियाले सधैँ आलोचना मात्र गर्‍यो।’ तर, उनीहरूमा यो हेक्का हुन जरुरी छ कि कुशल शासकले जहिले पनि अरूको आलोचना सुन्न सक्ने क्षमता राख्दछ। व्यवहारमा सुधार ल्याउँछ। 

    जसरी विश्वका मिडियाका कर्पोरेट हाउसहरूले समाजमा रहेका गलत प्रवृत्तिविरुद्ध आलोचना गर्न थालेँ कि तिनीहरू बन्द भएका छन् कि त बार्गेनिङ्ग गर्ने साधनका रूपमा प्रयोग भएका छन्। नेपालमा पनि साना लगानी र ठुला लगानीका मिडियाहरू पनि त्यसको सिकार बनेका छन्। नेपालमा अहिले च्याउसरी खुलेका अनलाइनहरूमा एउटामा एउटा समाचार हुन्छ अर्कोमा अर्कै। ठूला भनिएका पत्रिकामा पनि त्यही। अनि जनताले कसरी सत्य सूचना कसरी पाउने? कसको सत्य मान्ने? साधारण जनता जहिले पनि अन्योलमै बाच्न विवश बनाउने हामी कलमजीवी! 

    नेपालका बौद्धिक जगतले ठूलो आलोचना गरेर लेखेको हुन्छ। अर्को बौद्धिक भन्ने मानिसले उसको खुब समर्थनमा लेखेको हुन्छ। समाजको ऐना भनिएकाहरूबीच यस्तो स्थिति भए समाजले सही सूचना कहिले पाउने? हामी जस्ता कलमजीवीहरू एक अर्काको समर्थनविरुद्धमा लेख्दै बस्ने, जनताले पारस्परिक विरोधी समाचार, लेख पढेर एक आपसमा झगडा गरेर बस्ने, अनि नेपाली समाजको प्रगति कहिले हुने? कलमलाई केवल मृत कलम बनाउने अनि समाज पनि मृत हुँदै कहिलेसम्म जाने?

रमेश रावल

रावल थाहा खबरका कालिकोट जिल्ला समाचारदाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]