|

बाजुरा : बाजुरामा दुई दिनदेखि वर्षासँगै भारी हिमपात भएपछि जनजीवन निकै कष्ठकर बन्नुका साथै बाजुरा 'क' र 'ख'को सम्बन्ध विच्छेद भएको छ।

विशेषगरी बाजुराको सदरमुकाम मार्तडी र पाण्डुसैनको बीचमा  पर्ने पोरखे लेखमा अत्यधिक मात्रामा वर्षासँगै हिमपात भएपछि सवारीसाधन तथा मान्छेको आवातजावतसमेत ठप्प भएको नागरिक अगुवा जनेश भण्डारीले बताए। हिमपातले किसानमा खुसीयाली छाएको छ तर यातायातका साधन, विधुत्, टेलिफोन सेवा ठप्प छ। खानेपानी ट्यांकी र पाइपलाइनसमेत जाम भएर जनजीवन थप कष्ठकर बनेको स्थानीयले बताएका छन्। यसरी हिमपातपछि तापक्रम शून्यमा झर्दा पानीका पाइपलाइनसमेत जाम भएर धारामा पानी नआउँदा हिउँलाई तताएर पानीको काम चलाउनु परेको पाण्डुसैनका नन्दलाल शार्कीले बताए।

राम्रोसँग पानीसमेत नपर्ने कर्णाली किनाराका बस्तीहरूसम्म हिमपात हुँदा स्थानीय खुसी भएको स्वामीकार्तिक खापर गाउँपालिका  ४ का वडाध्यक्ष काँशीराम कैलाले बताए। कार्तिक पहिलो साता नै सेताम्य भई सक्ने जिल्लाका मालिका, बूढीनन्दा, पोरखे काँध, संकल्ब्या, नुरीकाँध, बढालेक, भत्याली चौड, खढुली पाटनलगायतका उच्च भू-भागहरू दुई दिनको हिमपातले सेताम्य देखिएका छन्। हिमपात सुरु भएपछि बाजुरा आउने पर्यटकले जिल्लाका हिमालीभेगका दृश्य नियाल्न पाउने भएका छन्।

आकाशे पानीको भरमा कार्तिकमा नै खेती लगाएका किसानलाई पानी पर्न थालेपछि उनीहरूको निराशा आशामा परिणत भएको छ। कुल खेती योग्य जमिनको ८५ प्रतिशत आकशे पानीको भरमा लगाइएको खेती पनि सामान्य हरियो देखिन थालेको छ। ९८ प्रतिशत जनसंख्या कृषि पेशमा आश्रित भए पनि सिँचाइ असुविधा र आधुनिक कृषि प्रविधिको विकास नहुँदा बाह्र महिना खाद्य संकट हुने संभावनामा आशा जोगाएको स्वामीकार्तिक गाउँपालिका ३ जुकोटका कपुर शाहीले बताए।

हिमपातसँगै आएको पानीले गर्दा गहुँ, जौ, उवालगायत अन्न र तरकारी बालीमा राहत पुगेको छ। जिल्लामा हिमपात सुरु भएलगतै लेकाली भेगमा बसोबास गर्ने भोटे जनजातिलाई निकै समस्या हुने भएको दावागुरुङले जानकारी दिए। हिमपात बाजुराका जुकोट, पाडण्डुसैन रुगिन, काँडा मार्तडी,  कैलासमाण्डौ गोत्री कोटीलालगायतका ठाउँहरूमा बाक्लो हिमपात भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.