|

काठमाडौं :  तारादेवी स्मृति फाउन्डेसनको अक्षय कोषका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ। बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा स्वर किन्नरी तारादेवीको तेह्रौ पुण्य स्मृतिमा आयोजना गरिएको “सम्झनामा तारादेवी” सांगीतिक कार्यक्रममा रकम मेयर बिद्यासुन्दर शाक्यले फाउण्डेसनका अध्यक्ष दीपक केसीलाई हस्तान्तरण गरे।

सो अवसरमा मेयर शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको बताउँदै, कला, संस्कार, सााहित्य र सृजनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताए। 'तारादेवीले छोडेर जानुभएको पुँजी बचाउनुलाई दायित्व सम्झेर हामीले अक्षय कोषका लागि सहयोग गर्ने निर्णय गरेका हौं।' मेयर शाक्यले भने। 'सन्तुलित विकासका लागि हामी सबैलाई सहयोग गर्छौं। साझा हित हुने प्रस्ताव भए अन्य सर्जकले पनि दिन सक्नुहुनेछ।' 

कार्यक्रममा सांसद  रामवीर मानन्धरले  कलाकर्मीलाई सम्पत्ति मोतीको उपमा दिँदै उनीहरूकाे उचित सम्मान हुन नसक्नु दुःखद पक्ष रहेको टिप्पणी गरे। फाउण्डेसनका अध्यक्ष दीपक केसीले आफ्नो वडालाई श्रष्टाहरुको नामबाट परिचित गराउन ढृढता व्यक्त गरे। स्वर किन्नरीका कालजयी गीतहरुको प्रस्तुतीका लागि आगामी दिनमा सांगीतिक संघ संस्थाहरुसँग सहकार्य बढाइने योजना सुनाए। 

कार्यक्रममा तारादेवीका १४ वटा गीत प्रस्तुत गरेका थिए। यसरी प्रस्तुत गरिएका गीतहरुमा, श्यामप्रसाद उपाध्यायको रचना र नातिकाजीको संगीतमा रहेको टाढाबाट बोलाएको तिमीलाई बोलको गीत ज्ञानु राणाले गाइन्। यससँगै जनकविकेशरी धर्मराज थापाको काली पारी दाइ, राष्ट्रकवि माधव घिमिरेको फुलको थुङ्गो बहेर गयो, राजेन्द्र थापाको बनको आगो निभाउने, भैरवनाथ रिमाल ‘कदम’को अमर माया छोडेर जाने, यादव खरेलको नौसय खोल तरेर, रत्नशमशेर थापाको फुलै फुलको मौसम तिमीलाई प्रस्तुत गरिएका थिए। यी गीतहरु क्रमशः मीरा राणा, संगीता थापा शाक्य, गीता पाण्डे, सरिता शाही, जीना रसाइली र निकिता घिमिरे  प्रस्तुत गरे। यी सृजनामा नातिकाजी, शिवशंकर, शुभमबहादुर सुनामको संगीत रहेको छ। 

कार्यक्रममा प्रस्तुत अन्य गीतहरुमा किरण खरेलको शब्द, नातिकाजी र गोपाल योञ्जनको संयुक्त संगीतमा रहेका बनमा फुल्यो फुलै फूल र लुकुँ लुकुँ लाग्यो मलाई गरी २ वटा गीत, चाँदनी शाहको शव्द र नातिकाजीको संगीतमा रहेको आउ नआउ तिम्रो खुशी, चेतन कार्कीको शव्द र नातिकाजीको संगीतमा रहेको दाइलाई बोलाउँ भने र रत्नशम्शेर थापाको शब्द र नारायण गोपालको संगीतमा रहेको हे कान्छा ठट्टैमा लौं बैशैं बोलका गीत गाइएका थिए। यी गीतहरु क्रमशः निशाश्वरी सेन, गीता पाण्डे र मदन मगर, आरती गोले, सुप्रज्ञा देवकोटा, तृतीया गुरुङ र शर्मिला थापा, अनिल महर्जन र निकिता घिमिरेले प्रस्तुत गरेका थिए। 

तारादेवी वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन काठमाडौको इन्द्रचोकमा जन्मेकी हुन्। बाबु कृष्णबहादुर कार्की र आमा राधादेवीकी छाेरी हुन्। तारादेवीको बाल्यकालको नाम डोलकुमारी कार्की थियो।

२०२२ सालमा तारादेवीको शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह गरेकी तारादेवीको मृत्यु हुनुअघि नै छोरा र पति गुमाइसकेकी थिइन्। विमान चालक पतिलाई विमान दुर्घटनामा र जवान छोरालाई क्यान्सर रोगबाट गुमाएपछि उनको जीवन असाध्यै अप्ठयारोरो मोडमा पुग्यो। यी पीडाका बाबजुद पनि २०५६ साल फागुन १३ गते तारादेवीले एउटा सांस्कृतिक मञ्चमा गीत प्रस्तुत गरेकी थिइन्। 

उत्कृष्ट गायन कलाबाट नेपाली गीत संंगीततलाई प्रर्वद्धन गरेकी तारादेवीलाई २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै उनी इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार, नइ सुर सम्मान जस्ता सम्मानबाट सम्मानित भइन्। सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु प्रथम, महेन्द्ररत्न आभुषण, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदकसँगै देश विदेशमा उनले थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पाएकी थिएन्। 

कार्यक्रममा प्रस्तुत गरिएबाहेक, उकाली ओरालीहरूमा, आऊ न आऊ तिम्रै खुशी, हिमालको काखमा छ सानो मेरो गाउँ, साँघुरी बारी नि हो त्यो धारा पानी, सोचेजस्तो हुन्न जीवन, बिदा हुने भैगयो बेलाजस्ता थुप्रै गीत नेपाली संगीत पाखरीका मुखमा झुण्डिएर बसेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.