|

रोल्पाः रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन्। जिल्लामा गत मङ्सिर एक गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ। जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन्।

स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ। जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको सङ्ख्या पनि महिला बढी भएका हुन्। जिल्लामा स्वास्थ्य बीमा गर्नेको कूल सङ्ख्या निकै कम देखिएको छ। दुई लाख ३४ हजार जनसङ्ख्या रहेको रोल्पामा १२ हजार ८८२ ले मात्रै स्वास्थ्य बीमा गरेको बीमा बोर्ड रोल्पाका प्रतिनिधिले जानकारी दिएका छन्। स्वास्थ्य बीमाजस्तो महत्वपूर्ण कार्यक्रमको प्रचारप्रसार हुन नसक्दा यसको विमित बढ्न नसकेको जिल्ला स्वास्थ्य प्रमुख डा सुशील आचार्यको भनाइ छ। बीमा गर्न आफूहरुले अस्पताल आउने बिरामीसँग पनि परामर्श गर्ने गरेको डा आचार्यको भनाइ छ। बीमाका लागि खट्ने कर्मचारी,स्वयंसेवक र स्थानीय जनप्रतिनिधिको समन्वय भए स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ डा आचार्यले बताए।

स्वास्थ्य बीमालाई अन्य बीमाजस्तै गरेर बुझ्ने गरेको आफूले पाएको डा आचार्यको भनाइ छ। जिल्लामा पुरुष वैदेशिक रोजगारीमा जाने भएका कारण पनि बीमा गर्ने पुरुषको सङ्ख्या महिलाको तुलनामा कम भएको हुनसक्छ कार्यालय प्रमुख डा आचार्यले भने।बीमाको महत्वबारे बुझाउन नसक्दा बीमा गर्नेको सङ्ख्या नबढेको हुनसक्छ महिला अगुवा तुलसा आचार्यले बताए।आफूले स्वास्थ्य बीमा गरे पनि बिरामी पर्दा औषधि नपाएको हुँदा बीमाप्रति विश्वास घटेको आचार्यको भनाइ छ।

सरकारले अतिगरीबलाई निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ। जिल्लामा हाल एक हजार ७८४ अति गरीब बीमाको पहुँचमा आएको बताइएको छ। सरकारले रोल्पाका अति गरीबको बीमाबापत रु ४२ लाख ७७ हजार ४८५  भुक्तानी दिएको बताइएको छ। जिल्लामा एक हजार १२८ घरधुरीको बीमाबापत रु ३१ लाख ७५ हजार जम्मा भएको बीमा बोर्डले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.