फिचर

परिश्रमी 'धनकुटे बुढा'
SHARES

माघ १५, २०७५

    लमजुङ : एउटा सिरक छ, ब्लक खप्ट्याएर निर्माण गरिएको खाटमाथि एउटा गुन्द्री ओछ्याइएको छ। गुन्द्रीमाथि पातलो दरी, त्यही दरीमा ७८ वर्षीय बृद्ध ‘धनकुटे’ले चिसो रात गुजार्छन्।

    खासमा उनको नाम रनबहादुर राई हो। स्थानीयले ‘धनकुटे बुढा’ भनेर चिन्दछन्। सबैले ‘धनकुटे बुढा’ भनेर सम्बोधन गरेकोमा उनी खुशी हुन्छन्। स्थानीयले रनबहादुरलाई पछि न्वारान गरेका हुन्।

    ‘खोलाको तिर छ। राती जाडो हुन्छ, कुक्रुक्क परेर सुत्छु’ रनबहादुर (धनकुटे)ले भने। मस्र्याङ्दी नदीको स्याँठ र हिमालको चिसोले बृद्ध राईलाई सकस दिएको छ। बुढेसकालमा रातमा निन्द्रा कम हुने, त्यसमा पनि चिसोले घरीभरी जगाउँछ उनलाई। बिहान बेलुका खाना पकाउँदा अगेनामा धप्केको फिलिङ्गोले जाडोमा केही राहत दिन्छ। बेसीशहर नगरपालिका ६ बेलाउती बिसौनीस्थित ठूलोढुंगे खोलाको दोभान छेवैमा बृद्ध राईको निवास छ। कवाडी जस्तापाताको दिवार र चुहिने छाना भएको चिसो छप्पर (झुप्रो) मा जीवन बसिबियाँलो गर्छन्– रनबहादुर राई अर्थात् धनकुटे बुढा।

    स्थानीय सोमबहादुर राउतको कुखुरा फर्म पनि त्यहीं रहेको छ। फर्मको रेखदेखका लागि व्यवसायी राउतले बनाएको छाप्रोमा बृद्ध राई बस्ने गर्दछन्। ‘गत १५ वर्षदेखि धनकुटे बुढा यहीं बस्दै आएका हुन्। अन्त जान मान्दैनन्’ व्यवसायी राउतले भने, ‘बुढेसकालमा कता जा भन्ने? घर गयो भने पनि एक/दुई दिन बसेर फर्किहाल्छ।’ बृद्ध राई अहिले स्थानीय राउतको झप्रोको आश्रयमा रहेका छन्।

    रनबहादुर राईको लमजुङ प्रवेश र नयाँ न्वारान

    ‘मेरो घर संखुवासभा जिल्ला चैनपुर नगरपालिका ११ हो’ रणबहादुर उर्फ धनकुटे बुढाले भने। उनका अनुसार आफू सडक मजदुरको रुपमा २०५३ सालमा लमजुङ आएका हुन्। लमजुङ आउनु अघि तनहुँ जिल्लामा केही महिना सडकमा मजदुर काम गरेर बसे र सडकको कामको सिलसिलामा बेसीशहर चामे सडक मार्गमा मजदुरको काम गर्ने अवसर पाए। ‘त्यतिबेला सडकमा ग्याविन जाली भर्ने र गाह्रो लगाउने काम गर्थें। सडकमा पेटीठेकेदारको हाजिरमा काम गरेँ। कहिलेकाहीँ पेटी ठेक्का पनि लिएँ’ उनले भने।

    काम गर्न मिहनेती र जिम्मेवारी बहन गर्नसक्ने खुवी भएका कारण लमजुङमा स्थानीयले रनबहादुरलाई मन पराउन थाले। उनका अनुसार स्थानीयले घर सोधेपछि उनले पनि आफ्नो घरको ठेगाना बताए र स्थानीयले संखुवासभा जिल्ला भन्ने नामसँग अपरिचत भएको जनाउँदै कुन बाटो भएर जाने हो भनेर सोधेका थिए रे। रनबहादुरले भने, ‘संखुवासभा जानका लागि धनकुटा भएर जानुपर्छ भनेको थिएँ, त्यसपछि मलाई स्थानीयले धनकुटे भनेर चिन्न थाले।’ अहिले स्थानीयले रनबहादुर भनेर चिन्दैनन्, धनकुटे भनेपछि बालकदेखि बृद्धसम्मले चिन्ने स्थानीय दिवस भण्डारीले बताए। उनका अनुसार धनकुटेले कसैलाई पनि ‘भनी बिराउने र गरी बिराउने’ काम गरेनन्।

    धनकुटेको दिनचर्या

    ‘पहिले झैं अहिले काम गर्न सक्दिन, अरु सीप पनि छैन ढुंगा फुटाउने काम गर्छु।’ धनकुटेले सहजै भने। आफूले गर्ने ज्यालादारी कामप्रति उनलाई गर्व छ। उनलाई स्थानीयले घर तथा खेतमा पर्खाल लगाउन र ढुंगा फुटाउन बोलाउने गर्छन्। बृद्ध शरीर कहिलेकाहीं सञ्चो हुँदैन, ‘ढाड र घुँडा दुख्छ, बिस्तारामै दिनभर हुन्छु’ उनले भने, ‘इट्टा तताएर ढाड सेकेको थिएँ, अहिले चलबलाउन मिलेको छ।’

    बुढेसकालमा धनकुटेलाई सहारा आवश्यक छ। तर भनेजस्तो र सोचेजस्तो मानिसको जीवन हुँदोरहेनछ। यो उनको जीवनको बाध्यता पनि हो। उनले भने ‘भाग्यमा यस्तै लेखेको रहेछ के गरुँ!’ भाग्यमा लेखेको मेटेर मेटिन्न र जे पर्ला त्यही टर्ला भन्ने उक्तिलाई धनकुटे विश्वास गर्छन्। दश नंग्रा खियाए धनकुटेको चुलामा आगो बल्छ नत्र बल्दैन। स्थानीयका लागि यो एउटा बिडम्वना पनि हो। रातमा सिरकको न्यानो रहर र बिहान बेलुका आगाको राप अनि दिनमा मजदुरी धनकुटेको दिनचर्या बनेको छ।

    पारिवारिक पृष्ठभुमि

    ७८ वर्षीय रनबहादुर राई (धनकुटे बुढा) अन्तरे भाइ हुन्। ‘घर परिवारमा ६ दाजुभाइमध्ये अहिले घरमा कान्छा भाइ मात्रै बाँकी छ। ७ जना दिदीबहिनीको पनि निधन भयो’ रणबहादुरले भने। उनका अनुसार अहिलेसम्म पनि परिवार सगोलमा छ। रनबहादुरले पैतृक सम्पति लिएका छैनन्। ‘किन चाहियो र मलाई अंश? दुःखजेलो गरेर पेट पालेको छु, बाँचेको छु’ उनले प्रष्टीकरण दिए। उनका अनुसार दाजुभाइको अंशबण्डा भएको छैन, दाजुभाइले नै पैतृक जायजेथा चर्चेका छन्। आमा रत्नमायाले चिठीमा घर आउन आग्रह गरेपछि भारतमा ग्रिप कम्पनीमा कार्यरत रनबहादुर २०५० सालमा घर फर्किए। घर आएको केही समयपछि बृद्धा आमाको पनि निधन भयो।

    खुट्टा लाग्नासाथ मुग्लान पसेका रनबहादुर भारतका विभिन्न कम्पनीमा नोकरी गरे। २०२५ सालमा बुबा कहरसिं बितेको चिठी आयो। ‘बुबाको मृत्यु भएको ३ महिनापछि चिठी पाएँ’ उनले भने, ‘चिठी पाउनेबित्तिकै घर जाने छुट्टी पाइन, अर्को महिना घर गएँ।’ रनबहादुर घरमा छुट्टीमा जाँदा गाउँका छुट्टीमा आएका गाउँका दाजुभाइहरू पनि भेट्थे र एक आपसमा हालखवर सोधपुछ हुने गरेको सम्झना उनलाई छ। उनलाई अब गएबितेका कुरा सम्झेर मन दुखाउने बानी हटिसकेको छ। आफ्नो सिरीखुरी आफ्नै शरीर भएपछि सम्पत्ति भनेर मरिहत्ते गर्नेहरूसँग मौन रहन बाध्य हुनु परेको उनको भोगाइ छ।

    अबिवाहित रणबहादुर

    रनबहादुरलाई विवाह गर्ने फुर्सद भएन। २०४० सालमा भारतको असाम प्रान्तस्थित तेजपुर जिल्लाको ग्रिप कम्पनीमा उनी नोकरी गर्थे। ‘त्यो बेलामा केही रकम कमाएको थिएँ, घरखर्चीमा सकियो’ उनले भने, ‘आमा र दिदीबहिनीले त विवाह गर्नुपर्छ भनेका थिए, गरौँला भन्दै थिएँ।’ उनका अनुसार असाममा नोकरी गर्दा पनि असमीले छोरी दिन्छु भनेका थिए, तर रनबहादुरलाई बिवाह गर्ने मन भएन। ‘आसाम बस्न मन लागेन, नेपालको माया लाग्यो’ उनले भने, ‘असामीसँग विवाह गरेपछि पहाडमा आउन नमान्ने भए, त्यहीँ बस्नुपर्ने भयो’ रनबहादुरले आफ्नो विवाह नहुँनाको रहस्य यसरी खोले।

    बृद्धाभत्ताको तजबीज मिलेन

    ‘पोहारे संखुवासभा घरमा गएको थिएँ, गाउँका भतिजले भत्ता मिलाइदिन्छु भन्थ्यो’ धनकुटेले भने, ‘बृद्धभत्ताको पट्टा पनि पाएको छैन, खै देलान् नि!’ उनी आफैंं निरक्षर हुन्, त्यसमा पनि देब्रे आँखाले मात्रै उनलाई सहरा दिन्छ, मान्छे ठम्याउनसमेत हम्मेहम्मे पर्छ। त्यहीमाथि हत्तपत्त कान पनि नसुन्ने भएपछि दैनिक जीवन सकस बन्दै गएको छ। ‘भत्ताको लागि मात्रै घरीघरी जाने खर्च छैन। गएपछि मिले त ठीकै हो, नमिले खर्च मात्रै!’ निरास हुँदै उनले भने।

    लमजुङमै बस्न मन

    ‘म यहीं ठाउँमा बसेको २२ वर्ष भयो’ उनले गर्वका साथ भने, ‘अहिलेसम्म मलाई यहाँका मान्छेहरू कसैले पनि नराम्रो भनेका छैनन्। मलाई यहीँ माया लाग्छ।’ हुन पनि यहाँका स्थानीयहरू धनकुटेलाई माया गर्छन्। उनी पनि स्थानीयको काममा सहयोगी बन्दै आएका छन्। धनकुटे आए भनेपछि खान लागेको गाँस पनि बाड्छन्। उनले भने, ‘यहाँ मेरो इष्टमित्रहरू धेरै छन्।’

    आफ्नै पसिनामा विश्वास

    बृद्ध भए पनि काम गरेर खानु पर्छ भन्ने धारण बुढ्यौलीमा पनि सेलाएको छैन। कसैको घर तथा संरचना निर्माणका लागि बोलाएमा चल्दोफिर्दो दैनिक ज्यालामा मञ्जुर हुनु र आवश्यकता पूर्ति गरी सहज गरिदिनु धनकुटेको स्थानीयका लागि राम्रो बानी हो। ‘बृद्ध भएपनि खुरुखुरु काम गर्नुहुन्छ, ठगठाग भन्ने छैन’ नयाँ घर बनाउँदै गरेकी स्थानीय धनसिरी गुरुङले भनिन्, ‘ढुंगा फुटाउन परेमा सबैले इमान्दार बृद्धलाई बोलाउँछन्।’

    लुटेर, झुटो बोलेर, ठगेर, सित्तैमा अर्काको खान हुँदैन, परिश्रम गरेर खानुपर्छ भन्ने भावनाले बृद्ध धनकुटे परिश्रमको राजा बनेका छन्।


     

कृष्ण आले

पत्रकार आले थाहाखबरका लमजुङ संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]