एक प्रहरी बराबर ७१२ जना

|

दिलमाया शाही-

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लामा आवश्यक जनशक्ति नहुँदा शान्ति सुरक्षामा चुनौती देखिएको डिएसपी सीताराम रिजालले बताए। दरबन्दी अनुसारका प्रहरी नहुँदा सुरक्षामा समस्या देखिएको उनको भनाइ छ। प्रहरी कार्यालय जुम्लामा ३  सय ५ जना प्रहरी जवानको दरबन्दी हुनुपर्नेमा हाल २ सय २० जना प्रहरी जवान मात्र भएकोले जुम्लाको शान्ति सुरक्षामा चुनौती देखिएको रिजालले गुनासो गरे। अहिले जिल्लामा ८५ वटा दरबन्दी रिक्त रहेको रिजालको जानकारी दिए।

दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा ड्युटी खटनपटनमा समेत समस्या देखिएको उनको भनाइ छ। हिउँदको समयमा जुम्लामा अत्यधिक चिसो हुने भएकोले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

 दिउँसको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश कुमार केसीले बताए। जुम्ला जिल्लाको हकमा १ जना प्रहरी जवानले ७ सय १२ जना नागरिकहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपरेको केशीले गुनासो गरे।

एक प्रहरी बराबर ७१२ जना

प्रहरीको संख्या कमी भएकाले अपराध नियन्त्रणमा समस्या हुने गरेको केसीको भनाइ छ। १ सय नागरिकका लागि एक प्रहरी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि अहिले जिल्लामा एकजना प्रहरीले ७ सय १२ जनाको सुरक्षा गर्नुपरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

नेपालको सन्दर्भमा एक प्रहरीले ३ सयसम्मको सुरक्षा गर्न सकिने अवस्था भए पनि यसतर्फ सरकारले आवश्यक प्रहरीको दरबन्दी उपलब्ध गराउन सकेको अवस्था छैन। जिल्लामा अपराध नियन्त्रण गर्न आवश्यक जनशक्ति हुनुपर्ने भन्दै डिएसपी रिजालले जिल्लाको शान्ति सुरक्षालाई मजबुद गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाको एकल प्रयासले मात्र सम्‍भव नभएको बताए। जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायको सहयोग र समन्वय हुनुपर्ने उनको भनाइ छ। रिक्त रहेको दरबन्दी परिपूर्तिका लागि गृह मन्त्रालयमा माग गरिएको पनि डियसपी रिजालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.