|

काठमाडौं : सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’ को २५ औँ संस्करण माघ १५ देखि २० गतेसम्म हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पुर्‍याउने उद्देश्यले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले सो मेला आयोजना गर्न लागेको हो। ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई सेवा’ नाम दिइएको उक्त मेलाको तयारी पूरा भएको क्यान महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ। 

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ। मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन्। कूल १७५ कक्ष रहने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसीटी कलेज तथा तालिम प्रदायक संस्थाको सहभागिता रहनेछ। 

पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले विगतमा जस्तै यस पटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कारलगायत बारे जानकारी गराइने बताए। मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउने छन्। बम्पर पुरस्कारबापत इण्डोनेसियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक-एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन्। मेलाको सह–आयोजक ई–सेवाबाट यी सबै सुविधा उपलब्ध गराइने कम्पनी बजार व्यवस्थापक अरुण फुँयालले जानकारी दिए। 

यस्तै दैनिक पुरस्कारअन्तर्गत काठमाडौं प्याराग्लाइडिङ, त्रिशूलीमा र्‍याफ्टिङ, पोखरामा बन्जीजम्पलगायत सुविधा प्रदान गरिनेछ। मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क १०० र विद्यार्थीका लागि ५० तोकिएको छ। माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० शुल्क तिर्नु पर्नेछ। मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्नसक्ने क्यान महासंघका महासचिव रञ्जीतकुमार पोदारले बताए।     

यस पटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिनेछ। त्यस्तै नयाँ–नयाँ सफ्टवेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ। मेलामा विशेष आकर्षणको रुपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ।

प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको  दुई करोडको बीमा गर्नेछ भने अवलोकनकर्ताका लागि पनि दुर्घटना बीमा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.