|
File Photo

काठमाडौं :  प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ।

१० देखि अपरान्ह ५ बजेसम्म अर्थात् ‘अफिस टाइम’मा हुने अनशनमा सक्रिय सहभागिता जनाउनसमेत संघले सबै चिकित्सकहरूलाई अनुरोध गरेकोछ। डा. केसीको अनशनस्थलबाहिर आइतबार दिउँसो साढे १ बजे भेला भएका आवासीय चिकित्सक, चिकित्सक, तथा विद्यार्थीको समूहलाई सम्बोधन गर्ने क्रममा संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सो कुरा बताएका हुन्।

अध्यक्ष डा. श्रेष्ठले डा. केसी अनशन बसेको १९ दिन हुँदासमेत सरकारका तर्फबाट औपचारिक वार्ताको थालनी नहुनु दुःखद् रहेको बताए। उनले आवश्यक परेको खण्डमा आफूहरू मध्यस्थता गर्न चाहेको समेत उल्लेख गरे। सम्बोधनकै क्रममा उनले सरकारले डा. केसीको सत्याग्रहलाई कमजोर बनाउन चिकित्सकमाथि फुट ल्याउन खोजेको समेत आरोप लगाए।

अध्यक्ष डा. श्रेष्ठले केही चिकित्सकहरू क्षणिक लोभमा परेर आफ्नो आन्दोलनलाई कमजोर बनाउन खोजेको भन्दै त्यसको हिसाब राखिएको समेत बताए। संघले आफ्नो रिले अनशनको कार्यक्रम आफ्ना देशभरका जिल्ला शाखामा पनि जारी रहने बताएको छ।

त्यसअघि बोल्दै नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले जनतामुखी चिकित्सा ऐन आउनुपर्ने माग राख्दै अनशन बसेका डा. केसीको माग पूरा गर्न दबाव दिनु पर्ने बताए। उनले चिकित्सकहरूको मूल संस्था चिकित्सक संघ आन्दोलनमा कछुवा गतिमा हिँडेको समेत आरोप लगाए। सरकारका कतिपय अधिकारीहरूले डा. केसीका ९५ प्रतिशत माग पूरा भएको बताउने गरेको प्रशंग निकाल्दै उनले बाँकी ५ प्रतिशत के कारणले पूरा हुन नसकेको प्रश्न गरे। उनले सरकारी अधिकारी आएर ५ प्रतिशत पूरा नभएको विषयमा डा. केसीसंग छलफल गरे निकास निस्कन बेर नलाग्ने उपायसमेत बताए।

 डा. केसी आफूसँग १५ औँ अनशनमा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्नेलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.