|

बैतडी : जिल्लाकाे पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निशुल्क रुपमा बिमा गर्न थालिएको छ। गएको मंसिरदेखि सुरु गरिएको बीमा कार्यक्रममा हालसम्म पाटनमा ७५ जना र दशरथचन्द नगरपालिकामा ४५ जना आप्रवासी कामदारको बीमा छ।

आप्रवासी कामदारको रुपमा भारत जाने नागरिकको दुर्घटना बिमा गर्न थालिएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडी र अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो। यस्तै दशरथचन्द नगरपालिकामा भारत जाने आप्रवासी कामदारको निशुल्क बीमा गर्न थालिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए।

पहिलो चरणमा सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारका सदस्य भारतमा रोजगारीका लागि गइरहेका भए उनीहरूको बिमा गर्न थालिएको हो। उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था सिद्धपुर, शिखर बीउ प्रवर्द्धन सहकारी संस्था मुस्याचोर र निङ्गलाशैनी बचत तथा ऋण सहकारी संस्था देहीमाण्डौंमा आवद्ध शेयर सदस्यका परिवारका सदस्यको बिमा गर्न शुरु गरिएको जनाएकोे छ। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मिलेर बिमा गर्ने गरिएको हो। 

आप्रवासी कामदारको बिमाको किस्ता रकम रुडेस र नगरपालिकाले तिर्ने गरेको छ। दुर्घटना भएमा, चोटपटक लागेमा, कसैको मृत्यु भएमा बीमाले जोखिम बहन गर्ने बताइएको छ। अन्य देशमा रोजगारी गर्न जाने नागरिकको बीमा गर्ने गरिएको भए पनि भारतमा जानेको बिमा गर्ने नगरिएकाले आफूहरूले यसको शुरुवात गरेको दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए।

अहिलेसम्म भारत जाने नागरिकको बिमा गर्ने चलन नभएकाले उतै दुर्घटनामा परेकालाई समस्या हुने गरेको छ। रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परेका नागरिकलाई सजिलो होस् भन्ने उद्देश्यले बिमा गर्ने योजना अघि ल्याइएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.