|

बाँके : हिउँद याममा परेको वर्षाले बाँके र बर्दियामा १५ करोड रुपैयाँभन्दा बढीको इँटा क्षतिभएको छ। शुक्रबारको वर्षाले काँचो इँटा नष्ट भएको व्यवसायीहरुले बताएका छन्।

अमन इँटा उद्योगका सञ्चालक पप्पु कसरगरले सिजनको मध्य भागमा भएको वर्षाले धेरै क्षति भएको बताए। लगातार परेको पानीबाट पकाउनका लागि तयार पारिएको १५ लाख वटा काँचो इँटा नष्ट भएको उनको भनाइ छ। एउटा काँचो इँटाको मूल्य एक रुपैयाँ पर्दछ। ‘वर्षाले काँचो इँटा चौपट पार्‍यो,’ उनले दुखेसो पोखे, ‘यो वर्ष एक पटक नभई धेरै पटक वर्षातले इँटामा क्षति पुर्‍याइसक्यो।’

नेपालगन्ज उपमहानगरपालिका–१३, उदयपुरस्थित गुड्डु इँटा उद्योगका सञ्चालक गुड्डु कसगरको करिब ७ लाख वटा काँचो इट्टा बर्षाले नष्ट भएको छ। ‘पानी पर्दैन होला भनेर इँटाको चाङ लगाएका थिएनौँ,’ उनले भने, ‘चाङ नलगाउँदा ठूलो क्षति ब्यहोर्नु पर्‍यो।’ 

बाँकेमा ५२ र बर्दियामा १८ गरी ७० इँटा उद्योग सञ्चालनमा छन्। सबैजसो इँटा उद्योग सञ्चालकले वर्षाले ठूलो क्षति पुर्‍याएको गुनासो गरेका छन्। उदयपुरमा रहेको जय किसान इँटा उद्योगले पछिल्लो समय परेको पानीले १२ लाख वटा काँचो इँटा नष्ट नभएको बताए। जय किसान इट्टा उद्योगका संचालक सिरताज अलि कसगरले भने, ‘पकाउनका लागि तयार पारेको इँटा अकास्मात परेको पानीले कामै नलाग्ने गरी नष्ट बनायो,’ 

मूल्य बढ्ने

वर्षाले ठूलो परिमाणको काँचो इँटा नष्ट भएपछि बाँके र बर्दियामा इँटाको मूल्य फेरि बढ्ने भएको छ। गत साउनदेखि प्रतिहजार दुई हजार रुपैयाँ मूल्य वृद्धि गरेका इँटा उद्योग संचालकले घाटा पूर्ति गर्न पुनः मूल्य बढाउने संकेत गरेका छन्।

अहिले बाँकेमा एउटा इँटाको मूल्य १३ रुपैयाँ रहेको अमन इट्टा उद्योगका सञ्चालक पप्पु कसगरले जानकारी दिए। साउनअघि एउटा इँटाको मूल्य ११ रुपैयाँ थियो। वर्षाले पुर्‍याएको क्षतिपूर्तिका लागि इँटाको मूल्य बढाउनु बिकल्प नरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.