|

बाजुरा :  बाजुराको सदरमुकाम मार्तडी बजारको सडक निर्माण कार्यमा रोक लगाएको भन्दै प्रतिनिधिसभा सदस्य लालबहादुर थापालाई बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले विकासविरोधी माननीय भनेका छन्। उनले सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी उक्त अभिव्यक्ति दिएका हुन्। थापा २०७४ सालको चुनावमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

सदरमुकाम मार्तडीको मुहार फेर्न भनी चलाएको अभियानमध्ये सडक विस्तार पनि एक हो। यसलाई विस्तार नगरी सवारीसाधन आवतजावतमा अफ्ठेरो हुने र खुलामञ्चदेखि गौडाडिलसम्मको ढल निकास व्यवस्थित नगरे बजारवासीलाई निकै अफ्ठेरो हुने भएकाले व्यवस्थित ढल र सडक बनाउनु नगरको काम भएको भन्दै उनले भने, 'सडक विस्तार गर्नुपर्ने इलाकाभित्रका घर-जग्गाधनीलाई नगरपालिकामा बोलाई सबैको सहमतिमा सडक विस्तार भइरहेको छ। उनले थपे, 'माननीय थापाले उनको घरजग्गा नजिकै सडकलाई चाहिने ११ वर्ग मिटर जग्गा उपलब्ध नगराउँदा सडक विस्तारको काम रोकिएको छ।'

माननीय थापा सडक विस्तार गर्नुपर्ने बीचका घरजग्गा धनी हुन् या होइन? भन्ने थाहा संचारको पश्नमा जवाफ दिँदै नगर प्रमुख बडुवालले भने, 'हुन् नि, किन नहुनु? सहोदर दाइ बलबहादुर थापाका नाममा छ, घरजग्गा। उक्त घरमा माननीय बस्छन्। माननीयले सडक विस्तारमा सहयोग गर्नुको साटो उल्टै कर्मचारीलाई हप्काउने, थर्काउने काममा बाधा गर्ने मान्छे विकासविरोधी नभए अरू के हुन्?'

घरमा बस्‍दैमा घरजग्गा धनी मानिन्छ त? यसरी कसरी हुन्छ? अर्को प्रश्नमा उनले भने,  'उहाँ जिल्लाको माननीय हो। एक घर, व्यक्ति समूह विशेषको होइन नि। समग्र बाजुरालीको विकासका कुरामा किन तगारो बनेको? उल्टै नगरको विकासमा सहर्ष वातावरण गर्नुपर्नेमा उल्टै नगरलाई अपमान गर्नुभयो। लिखित चिठी काटियो, बोलाईयो बारम्बार तर, आउनुभएन माननीयज्यू जग्गा छोड्ने कुरै गरेनन्। उहाँका जग्गा धनी दाइलाई बोलाइयो। अहँ ! टेरेनन्। जग्गा पनि छोडेनन्। मुआव्जा लिने नलिने कुरै भएन।'

माननीयले दिएनन् कुनै प्रतिक्रिया

यसैबीच प्रतिनिधिसभाका सदस्य लालबहादुर थापालाई टेलिफोन गरी तपाईं विकासविरोधी माननीय हो? भनी सोद्धा उनले कुनै प्रतिक्रिया दिएनन्।

तर, सडक निर्माण गौडाडिलदेखि खुलामञ्चसम्म र जिल्ला वन कार्यालयदेखि जिल्ला अस्पतालसम्म सडक र ढल निर्माण कार्य तीव्र पारिएको छ। सडकको मापदण्डअनुसार सामान्य तहबाट हेर्दा न्युनतम ६ मिटर चौडा सडक चाहिन्छ।

मुआब्जा दिएर काम थालेका हौँ : नगरपालिका

तलमाथिबाट काम सुरु भएता पनि माननीयले जग्गा नछोड्दा निकै अफ्ठ्यारो भएको नगरपालिकाले पत्रकार सम्मेलनमा प्रस्‍ट्याएको छ। अहिले खाद्‍य संस्थानबाट जिल्ला अस्पताल बाजुरासम्म र लोकतान्त्रिक चोकबाट खुला मञ्चसम्म  सडक निर्माण गर्न लागिएको छ। यहाँबीचमा पर्ने घर र जग्गाधनीलाई सडक निर्माण गर्दा पुग्न सक्ने क्षतिको मुआब्जा दिई काम थालिएको नगरपालिकाले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.