|

नुवाकोट : नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी वर्ष विकास र समृद्धिको वर्षको रुपमा सरकारले अघि बढाउने बताए।

नुवाकोटको खरानीटारमा भरप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता नेपालले सरकारको पहिलो वर्ष गुनासो, आलोचना र काम कारवाहीप्रति आलोचनात्मक टिप्पणी आए पनि आगामी वर्ष यसलाई सुधारेर लैजाने विश्वास गरे। बरिष्ठ नेता नेपालले सहमतिको राजनीति नगर्न कांग्रेसलाई आग्रह गरे। उनले तोडफोड र हिंसात्मक राजनीतिले दल, नेता तथा कार्यकर्ता कसैको पनि हित नहुने बताए। वर्तमान सरकारलाई सहयोग गरी अगाडि बढ्न कांग्रेसलाई आग्रह गरेका हुन्।

नेता नेपालले अघिल्लो वर्षमा सुनिएका सकारात्मक गुनासो र सल्लाहलाई सुझावको रुपमा आगामी वर्षको नीति तथा कार्यक्रममा समावेस गरी सरकारको गुणगान र प्रशंसाको वर्षको रुपमा अघि बढाउन सरकारलाई सुझाव दिए। नेता नेपालले सरकारलाई सुझाव दिँदै भने, 'सरकारले गुनासो सुन्ने गुनासो के हो भनेर वास्तविकता पत्ता लगाउने, गुनासो संवोधनको लागि के के विधिहरू हुन्छन् भनेर विचार गरी निरुपणको सिद्धान्त अपनाउनुपर्छ।अनि मात्र कम्युनिस्ट सरकारको प्रत्याभूति नागरिकले गर्न पाउने छन्।'

पार्टी एकताबारे नेता नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झन आउने भएकाले यसलाई मिलाएर लैजानुपर्ने बताए। उनले मन परेकालाई भर्ना गर्ने र मन नपरेकालाई पाखा लगाउने परिपाटीले पार्टी बलियो नहुने पनि धारणा राखे। एकता प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन माघ महिनाभित्रै छलफललाई तीब्र बनाउन आफूले सुझाव दिने बताए।

नेता नेपालले वृद्ध भत्तामा वढोत्तरी गर्ने प्रतिवद्धता, आर्थिक समृद्धि,सुखी र सम्वृद्ध नेपाली भन्ने नारालाई सार्थकता दिन नसकेको भने खुलेरै वताए। उनले एक वर्षमा सरकारसमक्ष आएको आरोपलाई अव आगामी वर्ष विकास र समृद्धिको वर्षको रुपमा सरकारले स्थापित गर्न सक्नुपर्ने बताए।

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश सभाका उपसभामुख राधिका तामाङ लगायतले प्रतिष्ठानले हरेक वर्ष सामाजिक काम गर्दै आएको भन्दै उच्च प्रशंसा गरे। वरिष्ठ नेता नेपालले सोमवारै खरानीटारमा वृद्धवृद्धा तथा विद्यार्थीलाई पुरस्कृत गरेका छन्।

प्रतिष्ठानको तर्फवाट नेता नेपालले स्थानीय २० जना वृद्धवृद्धालाई नगद एकहजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गर्नुका साथै स्थानीय तादी भ्यु एकेडेमीमा अध्यनरत विद्यार्थीलाई न्यानो पोशाक र स्टेशनरी सामग्री पनि वितरण गरे। साथै सो विद्यालयलाई नेता नेपालले दुई थान कम्युटरसमेत प्रदान गरे। कार्यक्रममा नुवाकोट जापान समाजका अध्यक्ष हरि लामिछानेले प्रतिष्ठानमार्फत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.