|

सल्यान : आकाशे पानीको भरमा कालिमाटी गाउँपालिका घुइयाबारीका पञ्ज बहादुर विक खेती गर्दै आइरहेका थिए। पानी परेमा मात्र फसल भित्र्याउन पाउने तर पानी नपरे लगानी डुबाउँदै आइरहेका थिए विक। तर आजभोलि उनका दुःखका दिन गएका छन्। उनको खेतमै सौर्य ऊर्जामार्फत् खेतमै सिँचाइ कुलो आएको छ।

'अब दुखका दिन गए', उनले भने 'अब सिँचाइ अनुसारको खेती मजाले गरिन्छ।' वषौंसम्म आकाशे पानीको भरमा जीवन कटाई रहेका विक जस्तै झन्डै एक सय घरधुरी यतिखेर सिँचाइ पाएपछि ढंग भएका छन्।

कालिमाटी गाउँपालिकाको सहयोगमा सौर्य ऊर्जामार्फत् बबई नदीको पानी किसानको खेतमा पुगेको छ। झन्डै १५ विगाहा सुख्खा जमिनमा सिँचाइ गर्न गाउँपालिकाले ३१ लाख लगानी गरी सिँचाइ उपलब्ध गराएको छ।

आफ्नै खेतमा सिँचाई पुगेपछि बाह्रै महिना खेती गर्न पाइने भन्दै लाल बहादुर विक खुशीले गदगद भएका छन्। उनले भने ‘२० देखि ३० मिटर तल बबई नदी बगिरहेको थियो तर त्यसमाथिका सबै जमिन बाँझो हुँदै आइरहेका थिए। अहिले बल्ल हाम्रै गाउँघरबाट बबई नदी बगेको अनुभूति भएको छ।’ वर्षामा धानबाली लगाउँदै आएको र हिउँद लगायतका अन्य समयमा खेत बाँझो राख्नु पर्ने बाध्यता सिँचाइ आएपछि अन्त्य भएको विकको भनाई छ।

सिँचाइ सुविधा पुगैसँगै आकाशे पानीको भरमा खेती गर्दै आएका यस क्षेत्रका किसानका जमिनमा उत्पादनमा वृद्धि आउनुका साथै भनेको बेलामा आफ्नो जमिनमा सिँचाइ पाएपछि किसान बढी लाभ लिन थालेको गाउँपालिका अध्यक्ष दान बहादुर खत्री केसीले बताए। उनले भने ‘कृषिको राम्रो सम्भावना बोकेको यस त्यस क्षेत्रमा सिँचाइको अभावका कारण खेतीयोग्य जमिन बाँझो र मौषमी बनेको थियो। तर सौर्य ऊर्जामार्फत् सिँचाइको व्यवस्था गरिएपछि किसान कृषितर्फ पुनः आर्कषित हुन थालेका छन्।’

सिँचाइका कारण थोरै जमिन भए पनि उब्जनी राम्रो भएको मित्रलाल विकले बताए। कृषिमा आश्रित किसानका लागि सिँचाइ बरदान सावित भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.