|

बाँके : बर्दिया  र बाँकेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन ‘यात्रा ठाकुरद्वारा २०७५’ शुक्रबारदेखि सुरु भएको छ। नेपालगन्जस्थित बागेश्वरी परिसरबाट सुरु भएको साइकल यात्रा पश्चिम नेपालको पर्यटकीयस्थल ठाकुरद्वारामा पुगेर समापन हुने भएको छ। 

नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘यात्रा ठाकुरद्वारा २०७५’ को नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा र उपप्रमुख उमा थापामगरले एक कार्यक्रमकाबीच उद्घाटन गरे। यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख डा. राणाले पर्यटन प्रवर्द्धनका लागि कार्यक्रममा उपमहानगरले सहयोग तथा सहकार्य गर्ने बताउँदै नेपालगन्ज-रारा साइकल यात्राका लागि योजना बनाउने सुझाव दिए। उनले साइकल यात्राले पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने बताए। ‘बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा साइकल यात्राले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ’ उनले भने। 

उपप्रमुख थापामगरले नेपालगन्जमा साइकल लेनको ब्यवस्था गरिने बताइन्। उनले तत्कालै साइकल लेन बनाउन नसकिए पनि यसका लागि दीर्घकालीन योजना बनाएर उपमहानगर अगाडि बढ्ने बताइन्। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले साइकलले मानवको स्वास्थ्य सुधार गर्ने मात्र नभई वातावरण जोगाउन समेत मद्दत गर्ने बताए। उनले पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रालाई अझ ब्यापक बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा प्रमुख डा. राणा र उपप्रमुख थापामगरले नेपालको राष्ट्रिय झण्डा विश्व साइकल यात्री पुष्कर थापालाई हस्तान्तरण गरेपछि सुरु भएको साइकल यात्रामा ५० साइकल यात्रीको सहभागिता रहेको छ। बाँके र बर्दियाका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले यही माघ १८ र १९ गते यात्रा ठाकुरद्वारा २०७५ आयोजना गरिएको नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष केशर आलेमगरले जानकारी दिए।

बागेश्वरी मन्दिर परिसरबाट सुरु भएको साइकल यात्रा बर्दिया बाँसगढीको निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाई पर्यटकीय केन्द्रको रुपमा प्रचार प्रचार गर्ने लक्ष्य रहेको अध्यक्ष आलेमगरले बताए। साइकल यात्राको नेतृत्व विश्व साइकल यात्री पुष्कर शाहले गरिरहेका छन्। साइकलमै देशका ७७ जिल्ला भ्रमण गरेका भोजपुरका तेजप्रसाद पराजुली पनि सहभागी छन् भने ६४ वर्षका अष्ट्रेलियन साइकल यात्री नील र चार विदेशी महिलासहित ५० जना यात्रामा सहभागी भएका छन्। 

यात्रामा शारीरिक अशक्त दुई जना पनि सहभागी भएका छन्। एउटा खुट्टा नभएका कैलाली लम्कीका यमलाल रसाइली र धादिङका १९ वर्षीय युवक लामाको पनि सहभागिता रहेको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए। क्लबले यसअघि दुई पटक नेपालगन्ज प्रमुख कप साइकल दौड प्रतियोगिता आयोजना गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.