|

हेटौँडा : निर्माण सुरु भएको चार दशकपछि मकवानपुरको मनहरीदेखि राक्सिराङ गाउँपालिकाको चैनपुर जोड्ने ६ किमि सडकको ट्रयाक तयार भएको छ। बिहीबार एक कार्यक्रमकाबीच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त बाटोको उद्घाटन गरेका हुन्।

पूर्वपश्चिम राजमार्गस्थित मनहरीबाट चैनपुर जोड्ने सडक २०३३ सालदेखि बनाउन सुरु गरिएको थियो। पछिल्लोपटक गाउँपालिकाले गौरवको आयोजनामा राखेर १ करोड ३ लाख रुपैयाँ खर्च गरेको थियो।

गाउँपालिका केन्द्र राष्ट्रिय राजमार्गमा जोडिएपछि खुसी भएका स्थानीयहरुले मुख्यमन्त्री पौडेल र जनप्रतिनिधिहरुलाई फूलमाला र पन्चेबाजाले स्वागत गरेका थिए। मनहरी–चैनपुरको मोटरबाटोको निर्माण सकिएकाले अब गाउँपालिकाको केन्द्रसँग विभिन्न गाउँ र वडाहरू जोडिने सडक सञ्जाल विस्तार गरिने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। पाँच वर्षदेखि उक्त मोटरबाटोमा पर्ने आँपखोल्सीको पहिरोले सडकको ट्रयाक नै बगाएकाले कुनै निकायले पनि लगानी गरेको थिएन। गाउँपालिकाले गत वर्षदेखि मोटरबाटो निर्माणका लागि बजेट विनियोजित गरेपछि कामले तीव्ता पाएको थियो।

पुल बनाउने कार्य भने सुरु भएको छैन। आँपखोल्सीमा पुल नबन्दासम्म हिउँद याममा मात्र मनहरीह–चैनपुर मोटरबाटोमा सवारी साधन आउजाउ गर्न सक्छन्। वर्षायाम लागेपछि पुलको अभावले सवारीसाधन आउजाउ गर्न सक्तैनन्। ट्रयाक खुलेसँगै अब राक्सिराङ गाउँपालिकाका साविकको काँकडा, सरिखेत, राक्सिराङ, खैराङ र कैलाश गाउँपालिकाको भार्ता, कालिकाटार, गोगने, नामटार र डाँडाखर्कका बासिन्दालाई मनहरी बजारमा आवतजावत गर्न सुविधा पुग्नेछ।

बिहीबार उक्त सडकको उद्घाटन गर्दै मुखयमन्त्री पौडेलले नयाा ट्रयाकबाट मोटरगाडीमार्फत चैनपुर पुगेर राक्सिराङ गाउँपालिकाको चौथो गाउँसभा उद्घाटन गरेका थिए। काम सुरु गरेको तीन महिनामै मोटर चल्ने ट्रयाक खोलेपछि गाउँपालिको चौथो सभामा पुजन कन्स्ट्रक्सनलाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको छ। गाउँसभामा कन्स्ट्रक्सनका प्रमुख पुरुषोत्तम लामिछानेलाई दोसल्ला प्रशंसापत्र, ५० हजार रुपैयाँको चेकसहित प्रदान गरिएको थियो।

विपन्न चेपाङ र तामाङहरुले मोटर चल्छ भन्ने आस मारिसकेको अवस्थामा गाउँपालिकाको सक्रियतामा बाटो बनाएकोमा गाउँपालिका अध्यक्ष मल्लले खुसी व्यक्त गरे। कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सडकको स्तरोन्नतीको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए।

गाउँमा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको भन्दै उनले खुसी व्यक्त गरे। नेपाली काँग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता  तथा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचिन ईन्द्र बानियाँले उक्त सडक कालोपत्रे गर्न आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। उक्त ट्रयाक नहुँदा हिउँदको समयमा कैलाश र राक्सिराङ गाउँपालिकाका स्थानीयहरु खोलाका घुमाउरोबाटोबाट कष्टपूर्ण यात्रा गर्न बाध्य थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.