|

काठमाडौं : नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। नेपालको पहिलो टी-२० सिरिजमा विजय हासिल गरेको हो।

यसअघि नेपालले तीन खेलको एक दिवसीय सिरिज २-१ ले आफ्नो कब्जामा पारेको थियो।

आइतबार भएको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हात पारेको हो। वर्षाका कारण १० ओभरमा छोट्टिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो। 

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ९० रनमात्र बनाउन सक्यो। उसका लागि साहिमन अनवारले ३०, गुलाम सब्बीरले २५ र मोहम्मद बुटाले ११ रन बनाउनुका अलवा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ नेपालका लागि करण केसी, अविनाश बोहोरा र ललित राजवंशीले समान दुई-दुई विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेको नाममा एक-एक विकेट रह्यो। 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई-दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.