द्वन्द्वमा नबिग्रेको अर्थतन्त्र अहिले झन् धराशायी बनेको आरोप

|

पोखरा : नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देश चलाउने ढंग नभएको आरोप लगाएका छन्। सोमबार पोखरामा सरकारको विरोधका लागि नेपाली कांग्रेस कास्कीले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। ‘पहिलोपटक मैले नेपालको प्रधानमन्त्री यस्तो देखेको छु जो अगाडि आएको समस्याको समाधानभन्दा पनि तथ्यहरु बंग्याउँछ। केबल नक्कली कुरा मात्रै गर्छ। प्रधानमन्त्रीको नक्कली कुराको ठुलो मूल्य चुकाउनुपर्ने बेला आउन लागेको छ,’ उनले भने, ‘यस्तै अबस्था दुई–तीन महिना रह्यो भने देश हेर्दाहेर्दै कंकालीकरणको बाटोमा जान्छ। देश चलाउने ढंग नहुँदै गर्दा अर्थतन्त्र राम्रो निर्माण गर्ने अबसर पाउँदा सरकारको बेढङ्गी कामले गर्दा अर्थतन्त्र चौपट हुने ठाउँमा पुर्‍याएको छ। यो सरकारको मन्त्री मण्डल भ्रष्टहरुबाट बनेको छ। कुनै मन्त्रालय चोखो छैन।’

सरकारलाई चलचित्र देखाउनै बाँकी छ

थापाले अहिले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु ट्रेलर मात्रै भएको बताए। ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ। हामीले चलचित्र देखाउन बाँकी नै छ। यो टे«लर मात्रै हो। यो सरकारलाई चलचित्र कस्तो हुन्छ केहि समयपछि देखाउँछौँ,’ उनले भने। भारतको नाकाबन्दी बाट थिलथिलो भएको देशमा यो सरकारले काम गर्छ भन्ने अपेक्षा भएर अहिलेसम्म नै कांग्रेसले सरकारलाई सहयोग गरेको बताए। 

‘तपाईंहरुलाई याद दिलाउन चाहन्छु। नेपालको संसदिय इतिहासमा पहिलो पटक प्रतिपक्ष दलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समर्थन र मतदान समेत गर्‍यो,’ उनले भने, ‘शेरबहादुर देउवाले एक पटक आँखामात्रै झिम्क्याएको भए कानुन बनाउन नदिई सरकारलाई पटक पटक घुँडा टेकाउन बाध्य पार्न सकिन्थ्यो। तर, कांग्रेसले गरेन। कांग्रेसले जिम्बेवार पूरा गर्‍यो।’ सरकार अनुकुलको समयमा भएपनि कुनै काम नगरेको प्रति उनले आपत्ति प्रकट गरे।

प्रधानमन्त्रीले संघीयता मास्न लागे

देशमा संघीयता मास्न प्रधानमन्त्री नै लागि परेको उनको आरोप छ। ‘सात सात वटा प्रदेश सरकार बनाएको छ। तर, नेपालमा प्रधानमन्त्रीलाई सामान्य हेक्कासमेत पनि छैन,’ उनले भने, ‘नेपालमा संघीयता सबै भन्दा मन नपराउने मान्छे चित्रबहादुर केसी हो। उहाँ सबैभन्दा इमान्दार हुनुहुन्छ। उहाँले भोट माग्दै गर्दा पनि संघीयता काम छैन भनेर माग्नु भो। तर, जनताको बीचमा आएर संघीय नेपालको नेतृत्व गर्छु भनेर भोट माग्ने केपी ओली यस कारणले इमान्दार होइन बेइमान हुनुहुन्छ। किनकी नेपालको संघीयता मास्नको लागि आजको दिनको कोही उद्दत छ भने प्रधानमन्त्री केपी ओली हुनुहुन्छ।’

उनले प्रधानमन्त्रीले संघीयता मास्न प्रधानमन्त्री नै लागेको भन्दै विभिन्न प्रमाण समेत पेश गरे। ‘मैले आरोप लगाएको हैन। तथ्यहरु छन्, प्रमाणहरु छन्। आज सरकारले गर्नुपर्ने काम वित्तिय आयोग बनाउनु पर्ने बनाएन,’ उनले भने, ‘बल्ल–बल्ल बनायो त्यो पनि संबैधानिक आयोगमा प्रतिपक्षको नेता बेगर बनायो। हाम्रो संविधानले भनेको छ प्रतिपक्ष दलको नेता बेगर निर्णय गर्न पाउँदैन। तर, ढाँटेर छलेर संबैधानिक आयोगको मानमर्दन गरेर एक वर्षपछि विवादास्पद ढंगबाट एक वर्ष पछि वित्त आयोग बनेको छ। हाम्रो छोरी बलत्कार हुँदा यो देशको प्रधानमन्त्रीलाई छुँदैन। प्रधानमन्त्रीको छाती भित्र दया, मायाँ, सहानुभूती, करुणा केहि पनि छैन।’

१७ हजार मारेका को पाइलटलाई छुँदै छुँदैन

उनले प्रचण्डलाई को पाइलट भन्दै ब्यंग्य पनि गरे। ‘प्रधानमन्त्रीको साथी हुनुहुन्छ अर्को, पाइलट उहाँलाई त छुँदैन। उहाँ नछुनेबाटोबाटै आउनु भयो,’ उनले भने, ‘१७ औँ हजार मानिस मर्दाखेरी नछोएकोलाई एउटा छोरी मर्दाखेरी छुँदैन। अर्को पाँच जना १० जना मर्दापनि छुँदैन। अर्को चार वर्ष हामीले यस्तै भोग्नुपर्नेछ। पाँच वर्षको निम्ति आएको सरकारले लामो समयसम्म परिणाम दिने गरी काम गर्ला भन्ने हाम्रो अपेक्षा थियो। अहिले त पाँच वर्षका लागि आएको सरकार छ। यसले ज्वोरोको पनि औषधी खुवाउन छाडेर पानी पट्टी मात्र लाए बस्यो।’

सरकारले यातायातको सिण्डीकेट, समयमा काम नगर्ने निर्माण ब्यवसायीलाई समयमै काम गर्न लगाउने,  बैदेशिक रोजगारीमा जाने मान्छेहरुलाई ठगीबाट जोगाउने बताए पनि केहि नगरेको बताए।

द्वन्द्वमा नबिग्रेको अर्थतन्त्र अहिले धराशायी

‘यो सरकारसँग ढंग क्षमता छैन। यसले एक वर्ष नदेखाएको ढंग अर्को वर्षमा देखाउँदैन,’ उनले भने, ‘यो भन्दा पनि महत्वर्पूण कुरा हाम्रो अर्थतन्त्रको कुरा छ। हामी बाहिर जे देखिरहेका छौँ अबस्था त्यस्तो छैन। द्वन्द्वकालमा माओवादीको विगविगी हुँदा पनि जोगिएको हाम्रो अर्थतन्त्र धराशयि हुने अबस्थामा पुगेको छ।’ उनले पहिलो पटक ब्यापारीहरु सडकमा निस्केको देखेको भन्दै  सरकारको क्षमता देखिएको बताए। ‘पहिलो पटक ब्यापारीहरु सडकमा आएको देखेँ।त्यो पनि बैंकको ब्याज घटाइदेउ भनेर,’ उनले भने, ‘बजारमा पैसा छैन। बजारमा पैसा यसकारणले छैन। सरकार गफ गरिरहेको छ। सरकारको ढुकुटीमा भएको पैसा निकाल्न सकिरहेको छैन। आयात गर्ने स्थिती बढेको छ। निर्यात गर्ने कुरा घटेको छ। यसलाई तत्काल सन्तुलनमा ल्याएन भने देश ठुलो संकटतर्फ जाँदैछ।’

वाइडबडी ल्याऊ भनेको आफ्नै भुँडी वाइड बनाऊ भनेको हैन

वाइडबडी प्रकरणमा पर्यटन मन्त्रीलाई लक्षित गर्दै थापाले आफ्नै भुँडी वाइड बनाएको आरोप लगाए। ‘देशमा वाइबडी पो ल्याऊ भनेको आफू वाइडबढी खाएर आफ्नो भूँडी वाइड बनाउ भनेको हो ? प्रधानमन्त्री विहानदेखि बेलुकासम्म भ्रष्टचारीको अनुहार हेर्दिनँ भन्ने यहाँ जहाज किन्दा भ्रष्टाचार, जलविद्युतमा भ्रष्टाचार, भ्रष्टाचार पनि संस्थागत हिसाबले गरिएको छ। उनीहरुले गरेको भ्रष्टाचार केही न केही तरिकाले पार्टीमा लगानी हुनेछ।’

 सरकार केबल माफियाको लागि मात्रै बोल्ने उनको आरोप छ। उनले भेनेजुएलाको बारेमा बोल्नै नपर्ने विषयमा बोलेको भन्दै विरोध पनि गरे। ‘अहिलेको नेकपा जाने बाटो भनेकै भेनेजुयलाको बाटो नै हो। न यहाँ पहिलेको राम्रो एमाले रहेको छ, न राम्रो माओवादी नै रहेको छ। जे गरेनी सहिरहने जिम्बेवारबाट निस्कने पार्टी होइन कांग्रेस मादल बजाएर बस्ने। हामी माथी गरेको प्रत्येक हिसाब किताब लिएर कांग्रेस फेरी सरकारमा आउँछ।’ सरकारले गरेको हिसाब किताब खोज्न सबै सचेत भएर बस्न उनले आग्रह गरे। कास्की कांग्रेसले विरोध पृथ्वीचोकबाट निकालेको जुलुस, सभागृह चोक–न्यूरोड हुँदै महेन्द्र पुल पुगेर कोण सभामा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.