|
File Photo

तनहुँ : जिल्लाका ग्रामीण क्षेत्रमा हुने गरेका नेटवर्कको समस्या समाधानका लागि नेपाल टेलिकमले मोबाइल टावर थप्ने भएको छ। केही गाउँपालिका र केही नगरपालिकाकै ग्रामीण क्षेत्रमा नेटवर्क नलाग्ने समस्या रहेको छ। यसको समाधानका लागि नेपाल टेलिकम तनहुँले जिल्लमा क्षमता विस्तार गर्न ११ वटा मोबाइल टावर थप्ने भएको हो।

१० वटै स्थानीय तहमा एक/एक वटा मोबाइल टावर थप्ने तयारी गरेको कार्यालयले जनाएको छ। सदरमुकाम व्यास नगरपालिकामा दुई वटा टावर राखिने छ भने अन्य नगरपालिका र गाउँपालिकामा एक वटा राखिनेछ। कार्यालयका प्रमुख प्राविधिक अधिकृत तोयानाथ मैनालीले ११ वटा मोवाइल टावर थप्नका लागि तयारी भइरहेको बताए। ‘बढ्दो जनघनत्वसँगै मोबाइल प्रयोगकर्ताको चाप बढेको छ, मोबाइल प्रयोगकर्ता बढेसँगै यसको क्षमता विस्तार गर्नुपर्ने हुन्छ, क्षमता विस्तारका लागि टावर थप्दैछौँ,’ उनले भने ‘एघार वटा मोबाइल टावर थपिएपछि नेटवर्क समस्या कम हुनेछ।’

पछिल्लो समय मोबाइल प्रयोगकर्ताको बढ्दो चापका कारण मोबाइलमा फोन नलाग्ने, बोल्दाबोल्दै काटिने लगायतका समस्या आएसँगै कार्यालयले क्षमता विस्तार गर्न लागेको हो। टेलिकमले नेटवर्कको समस्या भएको ठाउँको अनुसन्धान गरेर टावर थप्नेछ। नेपाल टेलिकमका प्राविधिक सरद सापकोटाले जिल्लामा टेलिकमको ग्राहक बढेकाले क्षमता विस्तार गर्न लागेको बताए। ‘कतिपय ठाउँहरूमा अझै पनि मोबाइल नेटवर्कको समस्या छ, त्यस्ता ठाउँहरूको पहिचान गरी टावर थप्ने तयारीमा छौँ,’ उनले भने ‘टावर थप भएपछि जिल्लाका प्रयोगकर्तालाई सहज हुनेछ।’

सञ्चारको बढ्दो विकास, सस्तो र विश्वासनीयताले गर्दा तनहुँमा टेलिकमका ग्राहक बढ्दै गएका छन्। ग्रामीण क्षेत्रका टेलिकमको मोबाइल प्रयोगकर्तालाई आफन्त र आफ्ना छोराछारीसँग सम्पर्क गर्न सहज भएपनि छिनछिनमा नेटवर्क नटिप्दा समस्या रहेको छ। आँबुखैरेनी गाउँपालिकास्थित लाब्दी, मझुवा र छिम्केश्वरीका केही भागमा सञ्चारको अभावले टेलिकमको मोबाइल प्रयोगकर्ताको समस्या भाग्दै आएका छन्। टावर राखिएपछि गाउँका मोबाइल प्रयोगकर्ताले अझ बढी प्रयोग गर्ने अपेक्षा टेलिकमको छ। 

गाउँमा मोबाइल टिप्न थालेपछि दुर्गम भेगका प्रयोगकर्तालाई स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्कमा रहन सहज हुने व्यास–५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए। ‘टावर थपिएपछि मोबाइलमा मात्र नभई उनीहरूले गाउँबाट द्रुत गतिमा इन्टरनेटको माध्यमबाट काम गर्न सहज हुनेछ,’ उनले भने।

तीन लाख ग्राहक

विश्वासनीय मानिने नेपाल टेलिकमको प्रयोगकर्ता बढ्दो छ। तनहुँमा दुई लाख ७४ हजार तीन सय ७१ प्रिपेड र २४ हजार पोस्टपेड गरी करिव ३ लाख प्रयोगकर्ताले टेलिकमको मोबाइल प्रयोग गर्दै आएका छन्। जिल्लाका विभिन्न ठाउँमा ५६ वटा टेलिकमका टावर रहेका छन्। क्षमता विस्तारका लागि ११ वटा टावर थपिएपछि ६७ वटा हुने टेलिकमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.