थाहा संवाद : स्थानीय सरकार

'एक पटक रामारोशन घुम्न आइदिनुस्'
SHARES

माघ २३, २०७५

    अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रको नामबाट नामकरण गरिएको रामारोशन गाउँपालिकामा विभिन्न सम्भावना रहेको छ। यस गाउँपालिकाको लेक क्षेत्रमा पर्ने रामारोशन ताल निकै चर्चित ताल हो। यस क्षेत्रलाई 'बाह्र बण्ड, अठार खण्ड'का नामले चिन्ने गरिन्छ। यो गाउँपालिका समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटर उचाइमा पर्छ। यसलाई 'बाह्र बण्ड, अठार खण्ड'को ताल पनि भनिन्छ।

    रामारोशन क्षेत्रमा रहेका प्रमुख तालहरूमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा हुन्। कालीकोट र बाजुरा जिल्लाको दक्षिणमा अवस्थित यो क्षेत्र अछामको रामारोशन गाउँपालिका- ५ मा अवस्थित छ। १२ वटा ताल र घाँसे मैदानले भरिएका रमणीय उपत्यका जस्तो देखिने १८ वटा आकर्षक प्राकृतिक पाटनहरूले सुसज्जित यस क्षेत्रलाई स्थानीय भाषामा १२ बण्ड र १८ खण्ड पनि भनिन्छ। प्रमुख आकर्षणका रूपमा रहेका १२ तालहरूमध्ये रामे, लामोदय, ताउल्या, जिंगल्या, गाग्रा ताल मनमोहक छन्। त्यस्तै, १८ खण्डमध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट ठूला र आकर्षक छन्।। उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षण थपेको छ। 

    साविकको मलातीकोट, चाफामाडौं, शान्ताडा , बाटुलासैन, रामारोशन, भाटाकाटिया र सुतार गाविस जोडेर रामारोशन गाउँपालिका बनेको हो। सातवटा वडा रहेको यस गाउँपालिकाको केन्द्र मुजाबगर बजारमा रहेको छ। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित यस गाउँपालिकाका अध्यक्ष झंकर साउद 'भास्कर'सँग थाहाखबरकर्मी रमेश रावतले पर्यटन विकासलाई लक्षित गरेर गरेको कुराकानी प्रस्तुत छ।

    गाउँपालिकाका कामकाज कसरी अगाडि बढिरहेका छन्?

    यतिखेर हामीले प्राविधिक योजनाहरू सम्पन्न गरेका छौँ। प्राविधिक हिसाबले अगाडि बढ्नुपर्‍यो भन्ने योजनाका साथ अगाडि बढेका छौँ। अहिले मूलभूत रूपमा सडकको गुरुयोजना तयार पारिसकेका छौँ। अरू स्थानीय तहसँग जोड्ने र अन्तर प्रदेशसँग जोड्ने सडकहरूलाई प्राथमिकताका साथ निर्माण कार्य थालेका छौँ। गाउँपालिकामा रिङरोड बनाउँदै छौँ। त्यसको पनि डिपिआर निर्माण भइसकेको छ। सातवटै वडामा जोड्ने त्यो सडकको कुल लागत दुई करोड ९१ लाख रुपैयाँको डिपिआर तयार भएको छ। 

    तत्कालीन माओवादी विद्रोहको बेलामा संचालन भएका जनसरकारको अनुभव तपाईंसँग छ। अहिले आएर निर्वाचित जनप्रतिनिधि भइसक्दा स्थानीय तह संचालनमा कति फरक पाउनुभयो?

    त्यतिखेर बजेट तथा साधन स्रोत थिएन। अहिले साधन स्रोत छ। त्यतिखेर अलिक धेरै सामूहिक भावना थियो। विकासका कार्यहरूका केन्द्रिकृत भावना हुन्थ्यो। एउटा कासनको आधारमा जनता परिचालन हुन्थे। अहिले त्यति सहज छैन। गैरसरकारी संस्थाका कार्यक्रमका कारण जनता काममा त्यति सामूहिक भावना लिएर तल्लीन नहुने स्थिति बनेको छ। तर साधन स्रोत छ, बजेट छ, त्यो हिसाबले परिचान गर्न असहज छैन। समग्रमा सबैले सहयोग गर्ने हो भने रामारोशन गाउँपालिका संविधानले कल्पना गरेको जस्तै बनाउन सकिन्छ। 

    रामारोशन गाउँपालिकाको आर्थिक आयआर्जनको प्रमुख स्रोत के हो? एक, दुई, तीन भनेर भनिदिनुहोस् न!

    प्रमुख आधार तथा स्रोत भनेको पर्यटन नै हो। दोस्रो कृषि पेसा नै यसको आधार हो। यहाँका सबै उत्पादनहरू अर्गानिक बनाउन सक्यौँ भने राम्रो सम्भावना छ। तरकारी बालीहरूका लागि राम्रो सम्भावना देखिन्छ। फलफूलका लागि पनि माटो राम्रो भएको प्राविधिकहरूले पुष्टि गरेका छन्। हामीले किवी खेतीका लागि पहिले सर्भे गरेर अहिले दुई हजार बोट किवी लगाएका छौँ। तेस्रो भनेको पशुपालन नै हो। रामारोशन क्षेत्रमा प्रशस्त जंगल छ। यहाँ गाईबस्तु, भेडाबाख्रा, च्याङ्ग्रा पाल्यो भने राम्रो लाभ लिन सकिन्छ।

    तपाईंले कृषिको कुरा गरिरहँदा एक पटक तपाईं स्वयंले कालो धान रोपेर राम्रो उत्पादन गरेको भनेर चर्चा चल्यो। त्यो धान कृषकहरूले व्यावसायिक ढंगले किन लगाउन सकेनन्?

    कालो धान हावापानीका हिसाबले हाम्रोमा राम्रो उत्पादन हुने धान हो। त्यो धानको बिउ सबै कृषकहरूलाई वितरण गरेका छौँ। त्यो धान चुट्न अलिकति गाह्रो हुन्छ भनेर केहीले लगाउन छाड्नुभएको छ। उहाँहरूलाई त्यसको बजार मूल्यबारे राम्रोसँग जानकारी गराउने हो भने उहाँहरूले त्यो धान लगाउनुहुन्छ। त्यति मात्र होइन, हामीले कालो मार्सी धान, जसलाई जोराइली मार्सी भनिन्छ त्यो धान लगाएका छौँ, अर्कोचाहिँ जुम्ली मार्सी लगाएका छौँ। हामीले हुम्ला गएर कालो जौ पनि ल्याएर खेती गरेका छौँ। 

    रामारोशन ताल क्षेत्रको संरक्षण, विकास र प्रचारका लागि के छन् तपाईंसँग एजेन्डा?

    मुख्य गरी सडकलाई जोड दिएका थियौँ। सातवटै वडामा सडक पुर्‍याउने लक्ष्य थियो, छवटा वडामा सडक पुग्यो, एउटामा अलिकति सडक बनाउन बाँकी छ। सापेक्षित रूपमा काम सम्पन्न गरियो। 

    संरक्षणका लागि हामीले गाईबस्तुहरूलाई निषेध गरेका छौँ। ताल क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाएका छौँ। पर्यटन बजार व्यवस्थित नहुँदा ताल क्षेत्र अतिक्रमण गरेर टहरा निर्माण भइरहेका थिए, त्यो कार्य बन्द गराइएको छ। कैलाश खोलाका माछालाई जालले मात्र मार्न पाइने र अन्य विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने भनेर भनेका छौँ। तालहरू सरसफाई गर्दै छौँ। 

    विकासको जो कुरा गर्नुभएको छ, हामीले तालसम्म पुग्ने मोटरबाटोको स्तरोन्नति गर्दै छौँ। तालमा फागुनको पहिलो सातामै दुईवटा डुंगा संचालन गर्दै छौँ। पाँचवटा घोडा किन्दै छौँ। पर्यटन बजारको रूपमा ताल क्षेत्रको तलतिरको भूभागमा व्यवस्थित बजार बनाउने लक्ष्य राखेका छौँ। होमस्टेका लागि स्थानीयहरूलाई तालिम दिइएको छ र दिइरहेका छौँ। प्रचार प्रसारका लागि सबै क्षेत्रमा पहल भइरहेको छ। मिडियासँग सहयोग मागिरहेका छौँ। ब्रोसर बनाइरहेका छौँ।

    जिल्लाको चौखुट्टे क्षेत्र र विनायकको बेलखेत क्षेत्रमा ठूला होर्डिङ बोर्डहरू राख्ने सोच बनाएका छौँ। रारा घुम्न जाने पर्यटकहरूले रामारोशनका बारेमा जान्न पाए मात्र उनीहरू यहाँसम्म पुग्ने हुनाले ६ नम्बर प्रदेशका केही ठाउँमा पनि प्रचार प्रसारका लागि होर्डिङ बोर्ड, व्यानर, ब्रोसरहरू राखिनेछन्। कैलाश खोलाका माछाहरू पहिलेका राजा रजौटाहरूले दरबारमा निकै मीठो मान्ने भएकाले यहाँबाट मालुको पातमा बेरेर लैजाने गरिन्थ्यो भनेर पुर्खाहरूले सुनाउनुहुन्छ। त्यो माछाको ल्याब परीक्षणका लागि हामी परीक्षण केन्द्रमा पठाउँदै छौँ। 

    रामारोशनको मुख्य आकर्षण के हो?

    रामारोशन क्षेत्र समग्रमा आकर्षक क्षेत्र हो। खासगरी यहाँका १२ वटा ताल १८ वटा मैदान नै आकर्षण हुन्। यहाँ फुल्ने दर्जनौँथरिका लालीगुराँस हुन्। राष्ट्रिय चरा डाँफे नदेखेका धेरै हुन्छन्। रामारोशन ताल क्षेत्रमा जताततै बिहानतिर र साँझतिर डाँफे नाचिरहेका देखिन्छ। यो नै आकर्षण हो। अर्को कुरा रामारोशन क्षेत्र पर्यटनका दृष्टिकोणले मात्र होइन, धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण क्षेत्र हो। विभिन्न किंवदन्तीमा लेखिएअनुसार बाजुराको पवित्र धार्मिक स्थलमा दर्शन गर्न जाने भक्तजनहरूको पहिलो स्थान नै रामारोशन क्षेत्र हो। यहाँ नुहाइएन भने बडिमालिका गएको फल प्राप्त हुँदैन भन्ने धार्मिक विश्वास छ। त्यसैले त्यो स्थानका लागि एक सय आठवटा धाराहरू निर्माण गर्दै छौँ।

    यहाँ आउने पर्यटकहरूले भोलिका दिनमा अरू केके देख्न पाउनेछन्? 

    म यही कुरा भन्दै थिएँ। हामीले अग्ला डाँडाहरूमा भ्यू टावर निर्माण गर्दै छौँ। त्यो टावरबाट रामारोशन क्षेत्रको पूरै अवलोकन गर्न सकिनेछ र यसका साथै कर्णाली नदीसमेत त्यो टावरबाट हेर्न सकिनेछ। डुंगाहरूका रक पार्कहरू बनाउँदै छौँ। गाउँपालिकाभित्र साहसिक खेल बन्जीसहितका पुलहरू बनाउँदै छौँ। यसका लागि टेन्डर गर्दै छौँ। यो काम तीन वर्षभित्र पूरा हुन्छ। 

    गत वर्षको कार्यसम्पादन राम्रो भएन भनेर जनप्रतिनिधिहरूले भन्छन् नि?

    हामी चुनाव जितेर एउटा स्पिरिटमा आएका थियौँ। केही अनुभवको कमी पनि थियो। कर्मचारीहरूबाट पनि सोचेअनुसार साथ मिलेन। दुई जना सचिवले सातवटा वडा चलायौँ, पाँच जना कार्यकारी परिवर्तन भए। मुख्य गरी सडकलाई जोड दिएका थियौँ। सातवटै वडामा सडक पुर्‍याउने लक्ष्य थियो, छवटा वडामा सडक पुग्यो, एउटामा अलिकति सडक बनाउन बाँकी छ। सापेक्षित रूपमा काम सम्पन्न गरियो। 

    तपाईंको र उपाध्यक्षको कुराकानी नमिल्दा केही योजनाहरू अन्योलमा छन् भन्ने सुनिन्छ नि?

    होइन, हामी एउटै पार्टीबाट जितेर आएका हौँ। विचार एउटै छ। जनयुद्धका सहयात्री पनि हौँ। हामी एकदम मिलेर काम गरिरहेका छौँ। अध्यक्ष, उपाध्यक्षका आफ्ना आफ्नै अधिकारहरू संविधानले दिएको छ। कहिलेकाहीँ जोड बलका कुराहरू सबैकामा हुन्छन्। सामान्य कुरालाई तिलको पहाड बनाइएको छ। त्यो गलत हो।

रमेश रावत

पत्रकार रावत थाहा खबरका अछाम समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]