' पश्चिमा राष्ट्र र इयुको बक्तव्य आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति'

|
फोटो : अध्यक्ष प्रचण्डको सचिवालय

चितवन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाबारे पार्टी र सरकारको विज्ञप्तिमार्फत नै आधिकारीक धारणा आइसकेकाले अब कसले के भन्यो भन्ने कुराले केही अर्थ नराख्ने बताएका छन्।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भेनेजुयला स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्र भएकाले त्यहाँको राजनीतिक विवादमा बाह्य देशले हस्तक्षेप गर्न नहुने पक्षमा नेपाल सरकार र नेकपा रहेको बताए।

प्रधानमन्त्री एवं नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेनेजुयलाका विषयमा 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेटमा 'भेनेजुयलाबारे अध्यक्ष प्रचण्डको बोली चिप्लिएको' भनेको कुरा विभिन्न संचारमाध्यममा आएको कुरा सत्य नभएको र त्यसबारे आफूलाई आधिकारीक धारणा थाहा नभएको बताए। 'प्रधानमन्त्रीजीले कुन सन्दर्भमा के भन्नुभयो मैले मिडिया हेरेको छैन', प्रचण्डले आफूले जारी गरेको वक्तव्यबारे भने, 'त्यो वक्तव्य राजनीतिक थियो। स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न राष्ट्रको राजनीतक घटनाक्रममा कुनै बाह्य हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ दिइएको थियो। पछि परराष्ट्र मन्त्रालयको पनि जो स्टेटमेन्ट थियो त्यहीँ (आफूले जारी गरेको वक्तव्यको) स्पिरिटमा आयो।'

प्रधानमन्त्री ओलीले 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा र अमेरिकी राजदूतसँग के कुरा गरे भन्ने विषयले अर्थ नराख्ने प्रचण्डको भनाइ थियो। उनले भने, 'प्रधानमन्त्रीज्यूसमेत सहभागी सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा नै वक्तव्य जारी भएको हुनाले अरू कुराले अर्थ राख्दैन।'

प्रचण्डले आफूले वक्तव्य जारी गरेपछि पनि नेपाली मिडियामा विभिन्न समाचार आएकाले आफ्नो कुरामा अडिग रहेको भन्ने वक्तव्य जारी गर्नुपरेको सम्झाएका थिए। उनले भने, 'मलाई फसाइयो भन्यो भन्ने समाचारमा आएपछि त्यो होइन भन्ने स्पष्टिकरण दिएको थिएँ। सचिवालयको बैठकले समेत त्यहिँ स्पिरिटमा जारी गरिसकेपछि अब व्यक्तिले कसले के भन्छ त्यसले केही अर्थ राख्दैन।'

पार्टी एकता र पार्टीको अभियानबारे

अध्यक्ष प्रचण्डले एकता प्रक्रिया ढिलो भएको स्वीकार्दै बिहीबार बस्ने एकता टुंग्याउन गठन गरिएको कार्यदलको बैठकले प्रतिवेदन बुझाउने र बाँकी काम सक्ने बताए। उनले एकता प्रक्रिया छिट्टै टुङ्ग्याएर अभियानमा जाने बताएका छन्। उनले फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिए। उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रम घोषणा भइरहेका छन्। विकास निर्माणका काममा गती पक्रन थालेको छ।’

उनले पार्टीविरुद्ध राजनीतिक अफवाह फैलाइएकाले अब फागुन र चैतमा पार्टीले देशभर अभियान संचालन गर्ने बताएका छन। उनले यसअघि नै उक्त अभियान संचालन गरिसक्नुपर्ने भए पनि अब भने ढीलै भए पनि पार्टीका कुरा जनतामाझ लैजान अभियान संचालन गर्ने बताए। उनले फागुन पहिलो सातासम्म पार्टी एकताले सबै तहमा टुंगोमा लागिसक्ने बताए।

प्रचण्डले नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नभएको बताए। उनले इयु लगायतका राजदूत र प्रतिनिधिले अनावश्यक रूपमा वक्तव्य दिनु कूटनीतिक मर्यादाविपरीत भएको बताए। उनले शान्ति प्रक्रियाका बारेमा नेपालमा कुनै समस्या नभएको बताए।

उनले प्रधानमन्त्री देशमा नभएका बेला र राजनीतिक स्थिरतासहित विकासमा नेपाल अगाडि बढिरहेका बेला त्यो वक्तव्य आउनु अनावश्यक भएको बताए। प्रधानमन्त्रीले त्यो वक्तव्यको बारेमा डावोसमा दिएको अभिव्यक्ति सही भएको पनि प्रचण्डले बताए। उनले त्यो वक्तव्य आउनुका पछाडिको कुरा यसरी बताए, 'आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति हो भन्ने मलाई लाग्छ।' शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नेपालको सत्तापक्ष र प्रतिपक्षको धारणा एउटै भएको प्रचण्डको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.