|

पाल्पा : श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन्।

श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन्। विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन्।

विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुगेका छन्। वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरुषसँग सम्बन्ध स्थापित गर्नु,वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ।

चालु आर्थिक वर्षको छ महीनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएकोमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन्। हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ। तर जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्धविच्छेदका लागि पुरुषको सङ्ख्या धेरै बढ्दो छ

नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन्। भदौ एक गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ। सोही अनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन जाने गरेका छन्।

पुस मसान्तसम्म दर्ता भएका १२२ मुद्दामध्ये ५९ मुद्दा फर्स्योट भएको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार भेषराज खनालले जानकारी दिए। दर्ता भएका मुद्दामध्ये ६३ फछ्र्यौट हुन बाँकी छ। गतवर्ष जिल्लामा १३३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो। महिलाहरु मानसिक यातना,घरेलु हिंसा,अपहेलनाजस्ता समस्या लिएर मुद्दा दर्ता गराउन पुग्ने गरेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.