|

दार्चुला : दार्चुला सदरमुकाममा सुदूरपश्चि पर्यटन तथा व्यापार मेला तथा दार्चुला महोत्सव शुक्रबारबाट सुरु भएको छ।

स्थानीय उत्पादन प्रवर्द्धन, बजारीकरण गर्ने, स्थानीय कला सांस्कृतिमार्फत् पर्यटनको विकास गर्ने तथा विभिन्न क्षेत्रको सेवा सुविधाको जानकारी गराई स्थानीयलाई लाभान्वीत गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरी सुरु गरिएको महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुनेछ। १ सय ३० स्टल राखिएको महोत्सवमा २ लाख स्थानीयले सहभागिता जनाउने र करिब ३ करोडको कारोवार हुने आयोजक दार्चुला उद्योग वाणिज्य संघले जानकारी दिएको छ।

उद्घाटन कार्याक्रममा जिल्लाका विभिन्न स्थानका साँस्कृतिक, पारम्परागत झाँकीको प्रदर्शन गरिएको थियो। व्याँसी सौका समुदायको झाँकी, जिल्लामा मल्देशका रूपमा चिनिने अपिहिमाल गाउँपालिकाको झाँकी र महाकाली नगरपालिका वडा नम्बर २ र ३ को २२ धार्नीको दमाहासहितको प्रस्तुति उद्घाटनका दिनका आकर्षण रहे।

महोत्सवमा पौने दुई करोडको बिमा

सम्भावित दुर्घटनाको क्षतिपूर्तिका लागि आयोजकले पौने २ करोडको बिमा सुविधा जारी गरेको छ। महोत्सवस्थलमा राखिएको स्टलहरू तथा महोत्सव हेर्ने दर्शकहरूका लागि दार्चुला उद्योग वाणिज्य संघ दार्चुलालो पौने दुई करोडको बीमा सुविधा गरिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले जानकारी दिए।

आयोजकले महोत्सवस्थलमा राखिएका स्टलहरूको महोत्सव अवधिभर ९९ लाख ९९ हजार ९ सयको बिमा जारी गरेको छ भने १५ दर्शकहरूका लागि ५ लाखका दरले ७५ लाखको बिमा गरिएको छ। भागदौड, हुलहुज्जतका कारण स्टल र मानवीय क्षति हुन गए बिमाले सहयोग गर्ने उद्योग वाणिज्य संघ दार्चुलाका महासचिव मिलनराज अवस्थीले बताए। महोत्सव अवधीभर कुनै अप्रिय घटना घट्ने सक्ने भन्दै स्टलहरू र दर्शकको बीमा सुविधा गरिएको हो।

कार्यक्रममा भारतीय सीमा क्षेत्रका धारचुला व्यापार मण्डलका प्रतिनिधिहरू, दार्चुलाबाट प्रदेश सभामा प्रनिधित्व गर्ने प्रत्यक्ष निर्वाचित सांसदहरू, दार्चुलाका नौंवटै स्थानीय सरकारका प्रमुखहरूको सहभागिता रहेको थियो। महोत्सव अवधिभर भारतीय कलाकारहरूसहित एक दर्जन नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.