|

पर्वत : बिहीबारदेखि भैरहेको वर्षाका कारण पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षासँगै शनिबार बिहानदेखि उक्त जिल्लाका उच्च पहाडी भेगहरुमा बाक्लो हिउँ परेको छ। हिउँका कारण अत्याधिक चिसो भई जनजीवन नै प्रभावित भएको हो।्

पर्वतका फलेवास नगरपालिकाको डहरेको लेक, कार्कीनेटा, भंगरा र थापाठानाको माथिल्लो भागमा हिमपात भएको छ। यस्तै, जलजला गाउँपालिकाको हम्पालको लेक, लेकफाँट, शालिजा, धाइरिङ, नाङलिबाङ, बनौँ, मोदी गाउँपालिकाको क्याङ, लेस्पार, सहस्रधारा, देउपुरको उपल्लो भाग लगायतका ठाउँमा पनि हिमपात भएको छ। यस्तै, बाँसखर्क, भुकताङले, पञ्चासे, चिसापानीको लेकहरुमा पनि हिउँ जमेको छ। 

हिमपात भएको क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको त्यस क्षेत्रको स्थानीय सरकारले जनाएको छ। हिमपातका कारण नागरिकको दैनिकीमा कठिनाइ भएको छ। यद्यपि, वर्षाका कारण किसानहरु भने खुशी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा हिउँदे बालीमा सिँचाइको समस्या भएको थियो। वर्षाले गहुँ, आलु, तोरीलगायत हिउँदे बालीलाई फाइदा पु¥याएको भए पनि हिउँ जमेका ठाउँमा बाली तथा फलफूलमा क्षति पुगेको छ। 

मस्ताङ र म्याग्दीमा दुई फिट हिउँ

हिउँद याममा मुस्ताङको उपल्लो क्षेत्रमा बाक्लो हिउँ पर्ने भए पनि शुक्रबार साँझदेखि भने तल्लो क्षेत्रमा पर्ने सदरमुकाम जोमसोमसहितका ठाउँहरुमा पनि हिमपात भैरहेको छ। 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार अहिले पनि हिउँ परिरहेको छ। जोमसोममा करिब २ फिटसम्म बाक्लो हिउँ जमेको छ। खोलाका पानी पनि जमेको छ। अत्याधिक चिसोले नागरिकहरु घरबाहिर निस्कन नसकेकोको प्रहरी नायब उपरीक्षक खड्काले बताए। अहिले तल्लो मुस्ताङको तापक्रम माइनस ८ डिग्री पुगेको छ भने उपल्लो मुस्ताङमा माइनस १२ डिग्री रहेको छ। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाका अनुसार म्याग्दीका पहाडी ठाउँहरुमा बाक्लो हिउँ परेको छ। उच्च स्थानमा रहेका गुर्जा, घोडेपानी, सिखघारा, दानालगायतका ठाउँमा करिब दुई फिट बाक्लो हिउँ जमेको छ। 

यसैगरी तल्लो क्षेत्रमा सदरमुकाम बेनीको केही माथि रहेको भकिम्ली गाउँमा पनि बाक्लो हिउँ परेको छ। भकिण्लीमा शुक्रबार राति हिउँ परे पनि अहिले रोकिएको छ। यद्यपि, अग्ला डाडाँहरु रहेको तथा मुस्ताङसँग जोडिएको उपल्लो क्षेत्रमा भने हिमपात भैरहेको छ।

लगातारको वर्षा र हिमपातका कारण मुस्ताङ जोड्ने एक मात्र सडक पनि अवरुद्ध भएको छ। म्याग्दीको दानाभन्दा केही तल पर्ने गुइँठेमा बाटोमाथिबाट लेदो बगेर बाटो पुरिएको छ। जसका कारण मुस्ताङ आवतजावत गर्ने सवारीसाधनहरु अवरुद्ध भएका छन्। सडक सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बुढाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.