|

दमक(झापा) : कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसँगै करिब एक हजार धावकहरू शनिबार एक साथ दमकका सडकमा दौडिएका छन्। विद्यालयमा पढ्दै गरेका छात्रछात्रासहित व्यावसायिक रूपमा अब्बल ठहरिएका धावकहरू पनि प्रतिष्पर्धामा सहभागी थिए।

झापाको दमकमा 'दमक रन'ले आयोजना गरेको मिनी म्याराथनको सन्दर्भमा देश भरिका धावकहरूको जमघट भएको हो। उनीहरूलाई लोकप्रिय गीतकार बुद्धवीर लामाले पनि हौसला दिए। तीन वर्षअघि स्थापित दमक रनले तेश्रो वार्षिकोत्सवको अवसर पारी मिनी म्यराथनको आयोजना गरेको हो।

फौजी नै बलिया

झापाको दमकमा दमक रनले आयोजना गरेको मिनी म्याराथनको विभिन्न विधामा सुरक्षा फौजमा कार्यरत धावकहरूका दवदवा रह्यो।

दमक रन समूहले आफनो तेश्रो वार्षिकोत्सवका अवसर पारेर आयोजना गरेको मिनी म्याराथनको खुल्ला १५ किलोमिटरको पुरुषतर्फ इण्डियन आर्मीका तीर्थ पुन प्रथम भए। उनले निर्धारित दूरी ४६.०१ मिनेटमा पार गर्दै नगद ५० हजार हात पारे। त्यस्तै दोस्रो र तेस्रो नेपाल आर्मीका मिलन कार्की र टीका कटवाल भए। मिलनले ४६.३४ मिनेटमा दूरी पार गर्दै नगद ३० हजार हात पारे। आर्मीकै कटवालले भने ४६.४० मिनेटमा दूरी पार गर्दै नगद २० हजार जित्न सफल भए।

कान्छीमायाँले उछिनन्

खुल्ला महिलातर्फ भने एपिएफकी कान्छिमाया कोजु प्रथम भइन्। उनले निर्धारित दूरी ५६.०२ मिनेटमा पार गर्दै नगद ४० हजार रुपैयाँ जितिन्। दोस्रो भने धरान रनकी निक्कि नेम्बाङ भइन्। उनले १ घण्टा ८ मिनेट ३९ सेकेण्डमा निर्धारीत दूरी पार गर्दै  नगद २५ हजार प्राप्त गरिन्। तेस्रो भने नेपाल आर्मीकी सुमित्रा क्षेत्री भइन्। उनले निर्धारित दूरी १ घण्टा १० मिनेट ४६ सेकेण्डमा पार गर्दै नगद १५ हजार जित्न सफल भइन्।

त्यस्तै, १३ देखि १६ वर्ष उमेर समूहअन्तर्गत खुल्ला १५ किलोमिटर पुरुष तर्फ किरण लिम्बू प्रथम, सागर श्रेष्ठ द्वितीय र पूजन राई तृतीय भए। उनीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे। महिलातर्फ चन्द्रकला श्रेष्ठ प्रथम, मनिषा राई द्वितीय र आँचल मुर्मु तृतीय भइन्। उनीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे।

त्यस्तै ७ देखि १२ वर्ष उमेर समूह अन्तर्गत ५ किलोमिटरको दौडमा पुरुष तर्फ रोदन राई, युवराज लिम्बू र समीर लिम्बू प्रथम, द्वितीय र तृतीय भए। उनीहरूले क्रमशः ७ हजार , ५ हजार र तीन हजार नगद प्राप्त गरे। त्यस्तै महिलातर्फ सन्ध्या तामाङ, लक्ष्मी भुजेल र अनिशा राजबंशी प्रथम, द्वितीय र तृतीय हुँदै ७ हजार , ५ हजार र तीन हजार नगद प्राप्त गरे।

भेट्रानमा एक्ली रीता

१५ किलोमिटर भेट्रानको पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र महेन्द्र बज्रचार्य प्रथम द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल भए। उनीहरूले नगद ७ हजार , ५ हजार र तीन हजार नगद प्राप्त गरे। महिलातर्फ भने रीता राई प्रथम भइन्। भेट्रान तर्फको एक्लि प्रतिष्पर्धी मात्र रहेकी उनले निर्धारित दूरी १ घण्टा ३० मिनेट १५ सेकेण्डमा पूरा गर्दै नगद ७ हजार जित्न सफल भइन्। स्वास्थ्यका लागि दौडसहित अल्ट्राम्याराथन दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले समूहले वार्षिकोत्सवमा मिनी म्याराथनको आयोजना गर्दै आएको दमक रनका अध्यक्ष दिवस राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.