भेनेजुयलाको विषयमा पार्टीभित्र समाधान खोज्न जरुरी

|

हेटौँडा : नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरण पूर्ण नहुँदा कार्यकर्तामा निराशा छाएको बताएका छन्। आइतबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले पार्टी एकीकरण टुंग्याउन ढिला भएको टिप्पणी गर्दै अब तत्काल पार्टी एकीकरणको सवै प्रक्रिया टुंग्याउन जरुरी रहेको बताए। उनले पार्टी एकीकरण पूर्णरुपमा टुंग्याउन जति ढिला हुन्छ त्यति नै कार्यकर्तामा निराशा बढ्दै जाने टिप्पणी गरे।

‘अब पार्टीलाई पूर्णरूप दिन जरुरी रहेको छ। कार्यदलले गरेको कामको समिक्षा गर्दै अब सचिवालय, स्थायी, पोलिटव्युरो तथा केन्द्रीय कमिटी हुँदै जनवर्गीय तथा केन्द्रीय निकायलाई पूर्णता दिन ढिलाइ गर्नुहुँदैन’ उनले भने। उनले पार्टी एकता टुंग्याउनका लागि सिनियरलाई पहिलो प्राथमिकता र जुनियरलाई दोस्रो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने औँल्याए। ‘सिनियरलाई उचित स्थानमा राख्ने र बाँकी रहेको पदमा जुनियरलाई छाड्ने गरे पार्टी एकता टुंग्याउन सजिलो हुन्छ। यो नै उत्तम विकल्प पनि हो,’ उनले भने।

उनले पछिल्लो समय नेकपाभित्र भेनेजुयलाको विषयलाई लिएर हाल पार्टीभित्र देखिएको समस्याको समाधान तत्काल खोज्न जरुरी रहेको औंल्याएका छन्। वरिष्ठ नेता नेपालले  भेनेजुयलाको विषयलाई लिएर सरकारको नेतृत्व गरिरहेको पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालवीचको विवाद छलफलको माध्यमबाट तत्काल हल गर्न जरुरी रहेको बताए। ‘यस विषयमा पार्टीको केहीदिनभित्र बस्ने सचिवालय बैठकमा छलफल हुनेछ। पार्टी तथा सरकार विधिअनुसार सञ्चालन हुनुपर्छ। व्यक्तिलाई मन लागेको शैलीमा सञ्चालन गर्ने होइन। पार्टी र सरकार सामूहिक सहमतिका आधारमा सञ्चालन गर्नुको विकल्प छैन’ उनले भने।

उनले दुई तिहाइको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार न्यनीकरण गरेर जनहितमा काम गर्नुपर्ने सुझाए। ‘जनताको रायलाई आत्मसाथ गर्दै सरकार अगाडि बढ्नुपर्ने हुन्छ। अब फेरि यस्तो अवसर आउन गाह्रो छ। त्यसकारण हालसम्म भएको कामको मूल्यांकन गर्दै केही गल्ती भएको भए सच्याउँदै सरकारलाई अगाडि बढाउन जरुरी रहेको छ।’

उनले निर्वाचनको हारसँगै नेपाली कांग्रेसमा धेरै निराशा र असन्तुष्टिहरु देखिएको टिप्पणी गर्दै सरकारले गरेको गलतको कामको विरोध गर्दा खासै फरक नपर्ने औँल्याए। उनले ‘आफ्नो सरकारले गरेको गलत काम बाहिर आउने भएपछि चुप लाग्ने अर्काले गरेको सानो गल्तीलाई पनि ठूलो रुपमा लिएर विरोध गर्नुको कुन तुक छैन’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.