|

काठमाडौं : नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ।

वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो। विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए।

सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो। नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ। सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ।

खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गर्नु होटलको विशेषता हो।

काठमाडौंको होटेल सोल्टी क्राउन प्लाजा लिमिटेडकै भगिनी संस्थाका रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेण्ड सञ्चालनमा आएको छ। पाँचतारे होटलको मान्यता पाएपछि सोल्टी वेस्टेण्डमा अब लाइभ क्यासिनो सञ्चालनमा आउनेछ। अहिले मिनी क्यासिनो चलाइरहेको होटलमा काठमाडौंको सोल्टीमा क्यासिनो चलाइरहेको महाजनले नै चलाउने बताइएको छ। नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँचतारेस्तरको होटल तथा रिसोर्ट हुनुपर्छ।

योसँगै नेपालमा सञ्चालनमा रहेका पाँचतारे होटलको संख्या सात पुगेको छ। एभरेष्ट होटल र फूलबारी रिसोर्ट अहिले बन्द छन्। त्यस्तै भैरहवाको पवन प्यालेस, काठमाडौंको अलफ्ट पाँचतारेका रुपमा सञ्चालन हुने तयारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.