प्रदेशसभाको मिति अझै टुंगो लागेन

|

हेटौंडा : प्रदेशसभाका सदस्य तथा विभिन्न समितिको सभापतिहरू कामविहीन भएका छन्।

प्रदेश सरकारले वर्षे अधिवेशन अन्त्य भएको दुईमहिना वित्दा समेत प्रदेशसभा बैठक नबोलाउँदा सांसद् तथा विभिन्न समितिका सभापतिहरू कामविहीन भएका हुन्। प्रदेशका मन्त्री बाहेक सांसद् तथा सभापतिहरू समेत प्रदेशको अस्थायी राजधानी हेटौंडामा छैनन्। कानुनी व्यवस्था अनुसार प्रदेश ३ सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक बोलाउनका लागि आग्रह गर्नुपर्ने हुन्छ। तर सांसद्को वर्षे अधिवेशन अन्त्य भएपछि दुईपटक मन्त्रिपरिषद्को बैठक बसे पनि प्रदेशसभा बोलाउनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको छैन। जसले गर्दा अझै कति समय प्रदेशसभा सदस्य तथा सभापतिहरु कामविहीन हुने हो भन्न सकिन्न। 

प्रदेश सभा कामविहीन बनेसँगै मिनी संसदको रुपमा रहेको प्रदेशसभाका समितिहरू कामविहीन बन्दा प्रदेशका लागि आवश्यक कानुन निर्माणमा अझै पर ढकलिने निश्चित छ। प्रदेशसभाका समितिहरू प्रदेशसभाको वैठक वसेको समयमा समितिका सभापति र सदस्यहरूको अनुकुलतामा समितिका वैठक वस्ने गरेको भन्दै सदस्यहरूले समेत असन्तुष्टि जनाउन थालेका छन्।

अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश सरकारले प्रदेश सभामा विधेयक पेस गर्दा काम हुने हो भन्दै प्रदेश सभामा काम नभएपछि समितिहरूको वैठक नबस्ने बताए। प्रदेश सभाको समितिका वैठक पायक परेको समयमामात्र बस्ने गरेको छ। उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमाआले मगर प्रदेश सभाको वैठक बसेको समयमा मात्र समितिको वैठक बस्ने गरेको बताइन्। ‘अधिकांश हेटौंडा बाहिरका प्रदेशसभा सदस्य भएकाले काठमाडौँमा नै अनौपचारिक छलफल गर्ने गरेको छौँ’, उनले भनिन्।

प्रदेश सरकारले प्रदेश सभालाई पर्याप्त विजिनेस नदिएको र प्रदेशको स्थायी राजधानी समयमा नतोक्दा समितिहरूको वैठक र काम प्रभावित बन्दै आएको हो। प्रदेश सरकारको प्रदेश सभालाई छलेर काम गर्ने मानसिकताका कारण हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको बताउँदै प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिका सदस्यका छिरिङदोर्जे लामाले समितिका सभापतिहरु गैरसरकारी संस्थाको कार्यक्रम,गोष्ठी, सेमिनार र घुमफिरमा व्यस्त हुने गरेकोले समितिको काम प्रभावकारी नभएको बताए। 

लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठ प्रदेशको स्थायी राजधानी टुंगो नलाग्दा अस्थायी मानसिकताले प्रदेश सभाका समितिको वैठक नबस्ने गरेको भन्दै वैठक बोलाउँदा सदस्यहरूले आउन आनाकानी गर्ने बताए। उनले प्रदेश सभाको वैठक बसेको समयमा भए जुट्ने अरु समयमा वैठक राख्दा सदस्यहरू नआउने गरेको भन्दै प्रदेश सभा विजिनेसविहीन भएकोले समितिहरु पनि कामविहीन भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.