|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'समर लभ'को ब्यापारमा वर्षात् भिलेन बन्यो। रिलिजको अघिल्लो दिनदेखि निरन्तर परेको वर्षाले रिलिजपछि पनि छाडेन। तर फिल्मको प्रतीक्षामा बसेका दर्शक भने रुझ्दै र भिज्दै हलसम्म पुगे।

शुक्रबारको तुलनामा शनिबार दर्शकको साथ उच्च देखियो। वर्षातका कारण बिहानी शो प्रभावित हुँदा दिवा शोमा भने दर्शकको चाप बढ्यो। शनिबारको 'दिवा शो'मा राजधानीको मुख्य केन्द्र मानिने गोपीकृष्णको एक हजारभन्दा बढि क्षमताको 'गोपी'  हाउसफुल बन्दा अष्टनारायण हलमा पनि दर्शकको उपस्थिति उस्तै रहेको हल सञ्चालकले बताए।

'मल्टिप्लेक्सतर्फ सिभिल मल, लबिङ मल लगायतका शोहरुमा पनि दर्शकको चाप राम्रो पाइयो,' प्रफुल्लित मुद्रामा निर्देशक मुस्कान ढकालले भने, 'वर्षातका बाबजुत दर्शकले दिनुभएको माया र साथले खुशी बनाएको छ, वर्ड अफ माउथ राम्रो छ, फिल्म हेर्ने दर्शकले मुख खुम्च्याएको भेटेको छैन।'

त्यसो त फिल्मको अबको लक्ष्य भ्यालेन्टाइन भएको निर्देशक ढकालले बताए। 'माया गर्नेहरुका लागि प्रणय दिवस आइसकेको छ, हाम्रो फिल्मको मुख्य कन्टेन्ट नै प्रेम हो,' उनले भने, 'त्यो दिन दर्शकका लागि राम्रो खुराक र कोसेली समर लभ बन्नेमा शंका छैन।' फिल्मले राजधानीबाहिर नारायणगढ, दाङ, धरान र पोखरामा पनि दर्शकको साथ राम्रो पाएको वितरकहरुबाट प्राप्त विवरण बोल्छ।

कलाकारसहितको फिल्म टिमलाई पछ्याउँदै राजधानीका केही हलमा पुग्दा हल सञ्चालकले 'समर लभ'को रिलिज आफुहरुका लागि दशैँ आए बराबर भएको बताउँदै थिए। त्यसो त पछिल्लो रिलिज 'प्रसाद' र 'चङ्गाचेट'पछि कुनै पनि नेपाली फिल्मले दर्शक पाएको रेकर्ड छैन। हलमा खडेरी लागिरहेको समयमा 'समर लभ' मल्हम बनेर आएको हल सञ्चालकहरुको भनाइ छ।

सुबिन भट्टराईको प्रेमिल उपन्यासमा आधारित यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओम प्रतीक, कविता रेग्मी, शिशिर भण्डारीको लिड अभिनय छ। फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कार्यकारी निर्माता बिनोद अधिकारी छन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन्। पुष्पन प्रधानको संगीत रहेको फिल्मले सांगितिक रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.