|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले समृद्धिका लागि संघीय सरकार नीति र नियत दुबै स्पष्ट नभएका कारण विकासले गति लिन नसकेको आरोप लगाएका छन्। मुख्यमन्त्री राउतले संघीय सरकारमा बसेका केही व्यक्तिको नियति, नियत र मानसिकता स्पष्ट नभएका कारण सुखी नेपाली समृद्ध नेपालको नारा नारामै सीमिति हुन पुगेको बताएका हुन्।

राष्ट्रिय योजना आयोगले आइतबार जनकपुरधाममा आयोजना गरेको १५ औं योजनाको आधार पत्रसम्बन्धी प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘सरकार नियत र नीति स्पष्ट छैन। अनि कसरी काम हुन्छ? सरकारले पहिले नीति र नियति स्पष्ट भएर नीति कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गर्छु।’ उनले देशमा यसअघि १४ वटा पञ्चवर्षीय आवधिक योजना बनाए पनि उपलब्धि खासै हासिल गर्न नसक्नुको कारण बताउँदै अगामी दिनमा नीति बनाएर मात्र नहुने बताउँदै कार्यान्वयनमा जाड दिए।

मुख्यमन्त्री राउतले तलदेखि माथिसम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याले लक्ष्य प्राप्तिमा अवरोधक बनेको बताउँदै त्यस्ता कुशासन अन्त्य गर्ने काम आफै वाट शुरु गर्नपर्नेमा जोड दिए। उनले भने, ‘संघीयता धेरैलाई अहिले रुचाएको छैन। नरुचाउनेलाई स्पेश नदिऔं, विगतमा ६ वटा संविधानलाई मासेर संघीयता स्थापना भयो। यसमा पनि विकास गर्न सकिए भने भोली यो पनि जनताले फालिदिन्छ। त्यसैले यसलाई टिकाई राख्न विकास र समृद्धि आवश्यक छ।’

प्रदेश २ का १३६ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरूको उपस्थिति रहेको बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्षभित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिने बताए। उनले रकम छर्ने साना योजनाले समृद्धिको बाटो पहिल्याउन नसक्ने बताउँदै अबको विकास ठोस प्रकारको हुनुपर्नेमा जोड दिदै भने, ‘५० हजार १ लाखको योजना छनाेट तिर हामी नलागौं। ठोस योजनाको पहिचान गरौं। जसले हामीलाई समृद्ध बनाउछ।’

केन्द्रीतकृत मानसिकताले अहिले पनि संघीयतालाई धरापमा रहेको बताउँदै मुख्यमन्त्री राउतले आफनो काम, कर्तव्यले संघीयतालाई बलियो बनाउने जिम्मेवार प्रदेश र स्थानीय सरकारको हाथमा रहेको बताउँदै कृषि, उद्योग र पर्यटन मुख्य आधार भएको प्रदेश २ का लागि सोही अनुरुपको योजनाहरू निर्माण गरि दिन योजना आयोगसँग आग्रह समेत गरे।  

मुख्यमन्त्री राउतले तराई मधेसको लाइफलाइन हुलाकी सडक, सुनकोशी, कमला डाइभर्सन, स्पष्ट औद्योगिक नीति जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्दै कृषिलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरेका थिए। योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आयोगका सदस्य उषा झा, प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा, सदस्यहरू राजकुमार लेखी, डा राजिव झासहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.