|

जनकपुरधाम : नेपाल–भारत सीमा सुरक्षा बैठकको जनकपुरधाममा चुनाव लक्षित सीमा सुरक्षाका विषयमा छलफल भएको छ। भारतमा आसन्न लोकसभा निर्वाचनलाई लक्षित गरेर सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकमा सिमामा हुने आपराधिक क्रियाकलाप तथा रोकथाम सम्बन्धमा विस्तृत छलफल भएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलका अनुसार सीमामा हुन सक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण, नक्कली रुपैयाँको कारोवार, मानव बेचबिखन, साना हतियार जस्ता क्रियाकलापलाई रोक्ने जस्ता विषयमा छलफल भएको छ। प्रजिअ कँडेलले भने, ‘सीमा क्षेत्रमा हुन सक्ने अवैध मदिरा, लागुऔषध जस्ता कारोबारलाई पूर्ण रुपमा निर्मूलीकरण गर्ने गरी सीमामा सुरक्षा व्यवस्था कडाई गर्ने सहमति भएको छ।’ 

धनुषाका प्रजिअ कँडेल र भारतको बिहार प्रदेशअन्तर्गत मधुबनी जिल्लाका डीएम कपिल अशोकको अगुवाइमा नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक निकायका अधिकारीबीच भएको बैठकमा क्रमशः अप्रिल र मई महिनामा हुने लोकसभा चुनावकेन्द्रित गरेर सीमामा सुरक्षा व्यवस्थाका विषयमा बैठक केन्द्रित रहेको थियो। 

फागुन महिनामा हुने मिथिला माध्यमिकी परिक्रमाका दौरान नेपालको भूमिमा नेपालका र भारतको भूमिमा भारतका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने सहमति समेत भएको प्रजिअ कँडेलले बताए। यसैगरी डिसेम्बर महिनामा भएकाे भारतको बिहारको मधुबनी जिल्लाको संयुक्त सुरक्षा अधिकारीको बैठकबाट सीमा स्तम्भको मर्मत सम्भारको निर्णयलाई निरन्तरता दिने र दुवै देशको सीमावर्ती क्षेत्रमा अवैध अतिक्रमण हुन नदिने सम्बन्धमा समेत छलफल भएको कणेलले जनाए। 

लोकसभा चुनावमा दुवैतर्फ रहेको खुला सीमा बन्द गर्ने सँगसँगै आपराधिक क्रियाकलाप र नक्कली नोटको कारोबार समेत रोक्नेतर्फ सावधानी अपनाउन बैठक गरिएको मधुबनी जिल्लाका डीएम कपिल अशोकले बताए। 'भारतको बिहारस्थित जयनगरमा उखु किसानको समस्यालाई नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरेर समस्या समाधान गरेको छ' भारत मधुवनी जिल्लाका डिएम अशोकले भने, 'नेपाल हाम्रो परिवार जस्तै हो। नेपालको समृद्धिका साथै सीमावर्ती क्षेत्रका दुवै नागरिकको समेत समृद्धि तथा विकास होस् भन्ने भारत सरकारको चाहना छ। त्यसैले हामी दुवै देश एकअर्कोको काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ।’

नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपालमा लुक्ने प्रवृतिलाई अन्त्य गर्न नेपाल र भारतको सुरक्षाकर्मीबीच छलफल भएको र अपराधीको पहिचान गरेर ती अपराधीलाई पक्राउ गर्न नेपाल सरकारलाई सुम्पिने समेत बताए।

बैठकमा प्रदेश २ का सप्तरी, सिरहा, धनुषा र महोत्तरी गरी ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बलका उपरीक्षकको उपस्थिति रहेको थियो। यसैगरी भारतीय टोलीमा भारत बिहारको मधुबनी जिल्लाका प्रहरी उपरीक्षक दिपक बर्मासहित एसएसबीका प्रमुखको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.