|

भद्रपुर, (झापा) : झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेश भिड्ने भएको छ। 

मेची रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई एककाविरुद्ध तीन गोल अन्तरले पराजित गर्दै नेपाल आर्मी फाइनलमा प्रवेश गरेको हो। आर्मीका तर्फबाट राम साहले खेलको ११ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। निक्कै संर्घषपूर्ण खेलमा प्रदेश १ का अनिष मगरले खेलको ३८ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। पहिलो हाफ्को नतिजा बराबरीमा टुंगियो। दोस्रो हाफ्मा आर्मीले आक्रमक पारी खेल्दै दुई गोलले अग्रता लिए। खेलको ४१ औं मिनेटमा सत्यनारायण चौधरी र ५० औं मिनेटमा राम साहले एक एक गोल गरे। साहले दुई गोल गरेका थिए। त्यस्तै अन्तिम सेमिफाइनल खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिमविरुद्ध टाइ ब्रेकरमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

खेलको निर्धारित समय अवधिमा दुवै टिमले एक/एक गोल गरेका थिए। सुदुरपश्चिमका सुरेशप्रसाद जोशीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ्मा एक गोलले अग्रता लिएका सुदूरपश्चिमले दोस्रो हाफ् गोल खाए। खेलको ४१ औं मिनेटमा गण्डकीका श्रवण कुमारले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। खेल बराबरीमा टुंगिएपछि भएको टाइ ब्रेकरमा तीनकाविरुद्ध पाँच गोल गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो।

टाइब्रेकरमा गण्डकीतर्फबाट श्रवणकुमार, सागर आचार्य, प्रवेश खनिया, किसनबहादुर मगर र रोमन राणाले गोल गरे। उता सुदूरपश्चिमका सुरेशप्रसाद जोशी, कान्नु राम पनेज र राजेन्द्र कार्कील गोल गरेका थिए। दिनेश साहले प्रहार गरेको बल किपरले रोकेपछि फाइनल पुग्ने यात्रा समाप्त भयो। 

उपाधिका लागि बुधबार हुने फाइनल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश भिड्ने पक्का भएको छ। त्यस्तै तेस्रो स्थानका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्ने नेपाल हक्की संघका केन्द्रीय सचिव रञ्जन थापाले जानकारी दिए। कर्णाली प्रदेशवाहेक ६ वटा प्रदेश र आर्मीको सहभागितामा माघ २६ गतेदेखि प्रतियोगिता शुरु भएको थियो। राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएकोे प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिनेछ। नगद पुरस्कार जिल्ला खेलकुद विकास समितिले प्रदान गर्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.