|

पर्सा : वीरगन्ज भंसारको मुख्य बाटो छली पर्साको सिर्सियाबाट तयारी अवस्थाको प्रतिवन्धित लागुऔषध इन्जेक्सन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिकाको ग्रामीण इलाका समेटिएको वडा नम्बर २५ को सिर्सियाबाट प्रतिवन्धित लागुऔषध लिएर आउँदै गरेको अवस्थामा उनलाई पर्सा प्रहरी मातहतको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्ति भारतको हरिपुर पश्चिम चम्पारण बिहारको २२ वर्षीय साहिल मिया भन्ने नुरुल हक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनले ना ८ प ५१५१ नम्बरको मोटरसाइकमा महानगरपालिकाको ग्रामीण बाटो प्रयोग गर्दै भारतबाट नेपालतर्फ प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेको अवस्थामा सिर्सिया प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्त शर्माले बताए। अभियुक्त नुरुल हक हाल वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा नै बस्दै आएको पक्राउ परेपछि खुलेको छ।

अभियुक्तले तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध नुर्फिन ५०० थान, डाइजिल्याव ५०० थान र फेनारगन पनि ५०० थान नै लिएर आउँदै गरेको रंगेहात फेला परेपछि प्रतिबन्धित लागुऔषध र उनले चढेको मोटरसाइकलसहित अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेका अभियुक्तलाई लागुऔषध मुद्दामा कार्वाही अगाडि बढाएको प्रहरी उपरीक्षक शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.